सुनसरी । कोशी प्रदेशको पर्यटन प्रवद्र्धन र विकासलाई लक्षित गर्दै इटहरीमा ‘इस्टर्न ट्राभल मार्ट’ आयोजना हुने भएको छ ।
चैत १४ देखि १६ गतेसम्म अुने उक्त कार्यक्रम पर्यटन क्षेत्रको प्रवद्र्धन तथा व्यवसायिक सञ्जाल विस्तार गर्ने उद्देश्यले आयोजना हुन लागेको आयोजकले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
ट्राभल मार्टमा विशेष गरी भारतीय पर्यटक र पर्यटन व्यवसायीलाई लक्षित गरिएको छ ।
कार्यक्रममा प्रदेशका पर्यटन व्यवसायी, होटल व्यवसायी, ट्राभल तथा टुर अपरेटर, ग्रामीण तथा धार्मिक पर्यटनसँग सम्बन्धित संघ–संस्थाहरूको सहभागिता रहनेछ ।
कार्यक्रममा भारतका पश्चिम बंगाल, बिहार र सिक्किम लगायतका क्षेत्रबाट करिब २०० पर्यटन व्यवसायीहरूको सहभागिता रहनेछ ।
यसले प्रदेशको पर्यटन बजार विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक पुण्य भटराईले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत व्यवसायिक अन्तरक्रिया, बि–टु–बि अर्थात बिजनेश टु बिजनेश बैठक, प्रदर्शनी, भ्रमण अवलोकन लगायतका गतिविधि सञ्चालन हुनेछन् ।
सहभागीहरूले धरान, भेडेटार लगायतका पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ ।
मार्टको उद्घघाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने कार्यक्रम तय गरिएको छ भने समापन समारोह भेडेटारमा आयोजना गरिनेछ ।
नेपाल पर्यटन बोर्ड र इटहरी उपमहानगरपालिकाको सह–आयोजनामा तथा कोशी प्रदेश सरकारको सहयोगमा हुन लागेको यस कार्यक्रमले प्रदेशको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको जिल्ला होटल तथा पर्यटन ब्यवशायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले जानकारी दिए ।

















