सुनसरी। कोशी प्रदेश सरकारले नवप्रवर्धन र उद्यमशीलताको प्रवर्द्धन गर्दै आर्थिक विकासलाई तीव्रता दिन ‘उदय परियोजना’ मार्फत करिब ८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लगानी गर्ने तयारी गरेको छ।

स्विस सरकारको सहयोगमा सञ्चालन हुने यस परियोजनाअन्तर्गत साना तथा मझौला उद्यम (SME) स्थापना गर्न इच्छुक उद्यमीलाई लक्षित गरी लगानी गरिने भएको हो। सोही उद्देश्यसहित आज इटहरीमा ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता सम्पन्न गरिएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा निक्षेप तथा कर्जा सुरक्षण कोष र साझेदार बैंकहरूबीच प्रादेशिक साना तथा मझौला उद्यमी कर्जा सुरक्षण कोषमा आबद्ध हुने सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौताअनुसार स्विस सरकार र प्रदेश सरकारले समान ३०–३० करोड रुपैयाँका दरले कुल ६० करोड रुपैयाँको ग्यारेन्टी फण्ड स्थापना गर्नेछन्। साथै १४–१४ करोड रुपैयाँको ‘च्यालेन्जिङ फण्ड’ पनि निर्माण गरिनेछ।

परियोजना कार्यान्वयनमा आएपछि नयाँ उद्यम गर्न चाहने व्यक्तिले सहभागी बैंकहरूबाट ३० लाखदेखि ३ करोड रुपैयाँसम्म ऋण प्राप्त गर्न सक्नेछन्। विशेषतः, सम्भावनायुक्त परियोजनाका हकमा बैंकले आवश्यक ठानेमा धितोबिना समेत ऋण प्रवाह गर्न सक्ने व्यवस्था गरिएको छ।

निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख रमेश घिमिरेका अनुसार, उद्यमीको धितो अपुग भए पनि परियोजना व्यवहार्य देखिएमा सरकारी ग्यारेन्टीमा लगानी गर्न सकिने व्यवस्था यस योजनाको मुख्य विशेषता हो।

परियोजनामार्फत उद्यमीलाई ऋण प्राप्ति मात्र होइन, परियोजना तयारी, सहजीकरण तथा परामर्श सेवासमेत उपलब्ध गराइनेछ।

सरकारले यस योजनाबाट कोशी प्रदेशमा करिब ८ अर्ब रुपैयाँ बराबरको लगानी साना तथा मझौला उद्योगमा प्रवाह भई रोजगारी सिर्जना, उत्पादन वृद्धि र समग्र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

मुख्यमन्त्री कार्कीले राष्ट्रिय पुँजी निर्माण गर्दै कुल ग्राहस्थ उत्पादन (GDP) मा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गर्दै नवयुवालाई यस अवसरको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो। उहाँले स्थानीय तह र वडास्तरमा नयाँ सम्भावनाको खोजी गर्दै अध्ययनमा आधारित लगानी गर्न समेत उद्यमीलाई प्रेरित गर्नुभयो।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री बिदुर कुमार लिङ्गथेपले परियोजनाले प्रदेशको आर्थिक विकासमा ठोस टेवा पुर्‍याउने बताउनुभयो। साथै, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र ग्लोबल आइएमई बैंकका सीईओ शैलेन्द्र रेग्मीले परियोजनाको सफल कार्यान्वयनका लागि बैंकहरूको प्रतिबद्धता व्यक्त गरेका थिए।