विराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको अध्यक्षमा विराटनगरका दुई उद्योगी आकाङ्क्षी देखिएका छन् । महासङ्घ प्रदेशको अध्यक्षका लागि वर्तमान अध्यक्ष राजेन्द्र राउत र मोरङ व्यापार सङ्घ मोरङका अध्यक्ष नवीन रिजाल प्रतिस्पर्धी देखिएका छन् । दुवै उद्योगीले अध्यक्षको पद नछाड्दा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहे पनि हालसम्म ठोस सहमति जुट्न सकेको छैन ।
सहमति हुन नसकेको खण्डमा दुई पक्षबिच निर्वाचनमार्फत नेतृत्व छनोट हुने छ । उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेशको निर्वाचनका लागि १४ जिल्लाका ३८ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घ, १४९ वटा एसोसिएट सदस्य र १९ वटा वस्तुगत संघले २०६ जनाले मतदान गर्नेछन्। आजबाट सुरु हुने साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने छ ।
अध्यक्षको आकाङ्क्षी रहेका रिजालले उद्योगी व्यवसायीसँग रहेका ऐन कानुनहरूको संशोधन गराउनका लागि आफ्नो उम्मेदवारी रहने बताए । उनले भने, दुई तिहाइ नजिकको सरकारले उद्योगी व्यबसायीहरुसँग जोडिएका ऐन कानुनहरू संशोधनको तयारी गरेको देखिन्छ । सबै सरोकारवालाहरूको सहभागितामा ऐन कानुन संशोधन गराउने भूमिकाका लागि मेरो नेतृत्व आवश्यक छ ।
अध्यक्षका अर्का आकाङ्क्षी राउतले आफ्नै कार्यकालमा जग्गा खरिद गरी निर्माण सुरु गरिएको महासंघको प्रदेश भवनलाई सम्पन्न गर्न जिल्ला तथा नगरका उद्योगी व्यवसायीहरूको आग्रहमा आफू अध्यक्ष दोहोरिने योजना सहित अघि बढेको बताए।
उनले भने, ‘भवन निर्माणको जग्गा खोज्ने देखि हाल दुई तला निर्माण भइसकेको उक्त भवनलाई प्रदेशकै गौरवको आयोजनाका रूपमा हामीले लिएका छौँ।’

















