सुनसरी। बंगलादेश र भारतबाट कच्चा जुट आयात प्रभावित भएपछि पूर्वी तराईका जुट उद्योगले स्वदेशी किसानलाई खेतीमा प्रोत्साहन गर्ने नीति लिएका छन् । 

बंगलादेशले एक चरणको प्रशोधनपछि मात्र निर्यात गर्ने नीति लिएको र भारतमा समेत उत्पादन घटेका कारण पछिल्लो ६ महिनायता जुट आयात प्रभावित भएको छ । भारत र बंगलादेशबाट कच्चा जुट आयातमा अवरोध आएपछि सुनसरी-मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित जुट उद्योगहरूले स्थानीय किसानबाटै खरिद गर्ने र उचित मूल्य दिने नीति लिएका हुन् । 

यसले किसानलाई जुट खेतीतर्फ पुनः आकर्षित गरेको छ । हाल सञ्चालनमा रहेका उद्योगहरूलाई आवश्यक कच्चा जुटमध्ये करिब ८० प्रतिशत भारत र बंगलादेशबाट आयात हुने गरेको थियो । एक दशकअघि स्थानीय उत्पादनले एक दर्जन उद्योगको माग धान्ने गरेकोमा अहिले खेती क्षेत्र घटेर करिब ११ हजार हेक्टरमा सीमित भएपछि उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् । 

पछिल्लो पाँच वर्षमा मात्रै आधा दर्जन उद्योग बन्द भइसकेका छन् भने हाल सञ्चालनमा रहेका ६ वटा उद्योगले पनि अधिकांश कच्चा जुट आयात गर्नुपर्ने बाध्यता झेलिरहेका छन् । नेपालमा उत्पादित जुटले हाल उद्योगहरूको कुल मागको २० देखि २५ प्रतिशत मात्रै धान्दै आएको छ । 

सुनसरी-मोरङ औद्योगिक कोरिडोरमा रहेका ६ उद्योगलाई वार्षिक करिब ६५ हजार मेट्रिक टन कच्चा जुट आवश्यक पर्छ । जसमध्ये करिब ६० प्रतिशत बंगलादेश र १५ प्रतिशत भारतबाट आयात हुने गरेको छ। तराईका जिल्लामा जुट खेतीको सम्भावना भए पनि उत्पादन लागत उच्च हुनु, बजार सुनिश्चित नहुनुजस्ता कारणले किसान यसको खेतीबाट विमुख हुँदै गएका थिए । 

अब उद्योगबाट मूल्य सुनिश्चित हुने प्रतिबद्धता पाएसँगै किसान र उद्योगबीचको सम्बन्ध फेरि सुदृढ हुने अपेक्षा गरिएको छ ।