विराटनगर: उद्योग संगठन मोरङले अनुसन्धानका नाममा उद्योगी–व्यवसायीहरूलाई दुःख दिइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संगठनका कार्यवाहक अध्यक्ष भोलेश्वर दुलालले “दोषी कोही उम्कनु हुँदैन, निर्दोषमाथि अन्याय हुन हुँदैन” भन्ने स्पष्ट धारणा राख्दै फौजदारी र वित्तीय अभियोगलाई समान रूपमा नलिन सरकारलाई आग्रह गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष उद्योगी शेखर गोल्छा पक्राउपछि बिहीबार साँझ जारी विज्ञप्तिमा संगठनले वित्तीय अभियोगका सन्दर्भमा “पहिला सुन्ने र अनुसन्धानबाट दोष प्रमाणित भएपछि मात्र थुन्ने” नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएको छ।

विज्ञप्तिमा वर्तमान सरकारले आर्थिक समृद्धि र राष्ट्रिय अर्थतन्त्र विकासमा निजी क्षेत्रको भूमिकालाई स्वीकार गरे पनि व्यवहारमा भने अनुसन्धानअघि नै थुन्ने प्रवृत्तिले उद्योगी–व्यवसायीबीच अन्योल र भयको वातावरण सिर्जना भएको उल्लेख गरिएको छ।

संगठनले दोष प्रमाणित नभई वित्तीय कसुरका आधारमा उद्योगी–व्यवसायीहरूलाई अनावश्यक रूपमा दुःख नदिन सरकारसँग आग्रह गरेको छ। साथै, अनुसन्धान प्रक्रियामा विधिसम्मत र न्यायसंगत सिद्धान्त—पहिला सुन्ने अनि दोष प्रमाणित भएपछि मात्र थुन्ने—को पूर्ण पालना गर्नुपर्ने धारणा राखिएको छ।

त्यसैगरी, वित्तीय प्रकृतिका अभियोगमा थुना बाहिर राखेर अनुसन्धान गर्ने विधि अपनाउन पनि सरकारसँग माग गरिएको छ।

विज्ञप्तिमा निजी क्षेत्रलाई भयमुक्त वातावरणमा उद्योग–व्यवसाय सञ्चालन गर्न सहयोग गर्न सरकारसमक्ष अपिल गरिएको जनाइएको छ।