इटहरी । आर्थिक अभावका कारण बन्द भएको उदयपुर सिमेन्ट उद्योगबाट उत्पादन भएको सिमेन्ट प्याकिङ गर्ने  प्लास्टिकको ब्याग किन्ने पैसा नहुँदा उत्पादन भएको सिमेन्ट बिग्रने अवस्थामा पुगेको छ।

प्याकिङ गर्ने बोरा नभएका कारण तयारी अवस्थामा रहेको करिब ६ करोड रुपैयाँ बराबरको सिमेन्ट बिग्रने अवस्थामा पुगेको छ । 

उदयपुर सिमेन्ट उद्योगले गैँडा सिमेन्ट उत्पादन गर्दै आएको छ । देशभर गैँडा सिमेन्टको माग भए पनि प्याकिङ गर्ने बोरा अभावमा तयारी सिमेन्ट भकारीमा  थन्किएको छ । दुई महिना देखि सिमेन्ट भकारीमा थन्किएको र  बजारमा पठाउन नसकिएको उद्योगका कर्मचारीहरूले बताएका छन्  । 

गत माघ महिनासम्म उद्योग आंशिक रूपमा सञ्चालन हुँदै आएको थियो । माघदेखि भने उद्योग पूर्ण रूपमा ठप्प छ । 

उद्योगको सिमेन्ट उत्पादन विभागका अनुसार हाल उद्योग परिसरमा करिब ८२ हजार बोरा बराबरको सिमेन्ट विभिन्न अवस्थामा मौज्दात छ । 

त्यसमध्ये करिब ५० हजार बोरा तयारी सिमेन्ट भकारी मै थन्किएको । २७ हजार बोरा उत्पादन गर्न पुग्ने किलिङ्कर मौज्दात अवस्थामा रहेको छ ।

प्याकिङ हाउसमा छरिएर, पोखिएर र समयमै व्यवस्थापन हुन नसक्दा झन्डै ५ हजार बोरा बराबरको सिमेन्ट पूर्ण रूपमा प्रयोगविहीन बनेको छ । 

६० हजार थान बोराको माग फारम भरेर पठाए पनि बोरा नआएको मेकानिकल इन्जिनियर तथा सिमेन्ट उत्पादन विभावका प्रमुख नगेन्द्रप्रसाद देवले बताए । उनले भकारीमा  पटक पटक भन्दा पनि बोरा नआएको बताए । 

देवले उत्पादन भएको सिमेन्ट समयमै प्याक गरेर बजार पठाउन पटक–पटक उद्योग प्रशासनलाई आग्रह गरिएको बताए । उनले पटक पटक भन्दा पनि उत्पादन भएको सिमेन्ट प्याक गर्ने बोरा नआएको बताए । 

उनले भने, “प्रशासनले बोरा नपठाएका कारण तयारी सिमेन्ट बिग्रने अवस्थामा पुगेको छ । यो प्राविधिक कमजोरी नभई प्रत्यक्ष रूपमा व्यवस्थापकीय असफलताको परिणाम हो ।खरिद शाखा र जिएम साँवले बोरा पठाउनु भएन ’

उनका अनुसार उद्योग प्रशासनलाई  धेरै पटक बोरा व्यवस्थापन गर्न आग्रह गरिएको थियो ।  तर कसैले गम्भीरतापूर्वक चासो दिएनन्

उनले भने, “प्याकिङ हाउसमा छरिएको सिमेन्ट अहिले नष्ट भइसकेको छ । उत्पादन भएर तयार भएको सिमेन्ट गोदाममै बिग्रने र डल्लो पर्ने  अवस्थामा पुग्नु उद्योगका लागि मात्रै होइन, राज्यकै लागि लज्जास्पद  विषय हो ।”

उद्योग प्रशासन प्रमुख गम्भिरजङ खत्रीका अनुसार प्रतिवोरा ७ सय ७५ रुपैयाँका दरले हिसाब गर्दा हाल थन्किएर बसेको सिमेन्टको मूल्य करिब ६ करोड ३५ लाख ५० हजार रुपैयाँ पुग्छ । 

उनका अनुसार उद्योगसँग प्याकिङका लागि आवश्यक बोरा खरिद गर्ने रकमसमेत नभएकाले उत्पादित सिमेन्ट बजार पठाउन नसकिएको हो । राज्यमा पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण सिमेन्ट प्याकिङ गर्ने बोराको मूल्य समेत वृद्धि भैसकेको छ ।