विराटनगर। मङ्गलवार दिउँसो यातायात कार्यालय इटहरीमा संसदीय समितिको एउटा टोली पुग्छ । काेशी प्रदेश सभाको न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नाल नेतृत्वको टोली यातायात कार्यालयको सेवा प्रवाह, नागरिकले पाएका सास्ती त्यहाँको नागरिकका गुनासालाई सरकारले सम्बोधन गरे, नगरेको बारेमा  स्थलगत निरीक्षणमा थियो। समिति पुग्नुको अर्को कारण भनेको यातायात कार्यालय परिसरको पर्खाल भत्काएर व्यापारीको प्रलोभनमा गेट निर्माण गरेको भन्ने  बारेमा जानकारी लिनु पनि रहेको प्रदेश सभा सदस्यहरू बताउँदै थिए। कार्यालयको निरीक्षण पछि यातायात कार्यालयको सानो हलमा भएको छलफलमा समितिका सभापति दर्नाल सहित प्रदेश सभा सदस्यहरू रमेश बस्नेत, शिला दीक्षित कार्की, सदानन्द मण्डल, ललिताकुमारी चौधरी सहित कोशी प्रदेश सभा सचिव सुदर्शन खड्काले आन्तरिक समस्याको बारेमा जिज्ञासाहरू राख्दै गए। कर्मचारीहरूले पनि जवाफ फर्काउँदै गए। यातायात व्यवस्था कार्यालय, इटहरी (सवारी) का प्रमुख मानबहादुर देवकोटा आफ्ना कार्यालयको सबै उपलब्धि र समस्या सुनाउन तयार देखिन्थे भनेँ यातायात व्यवस्था कार्यालय (लाइसेन्स)का प्रमुख निर्मल मानन्धर अलमलमा थिए। मानन्धरले पनि आफ्नो कार्यालयले गरेको कामको बारेमा जानकारी त दिए तर पूर्व तर्फको गेट खोल्नुको स्पष्ट कारण बताउन सकेनन्।  इटहरीस्थित यातायात कार्यालयमा दिनभर नै कार्यालय सुधारसँगै पूर्व तर्फ  गेट खोलिनुको कारण बारेमा संसदीय समितिले लामो समय छलफल गर्याे।

921299890_2062864451337077_10692710682643994_n

के हो गेट काण्ड?
इटहरी उपमहानगरपालिका वडा नम्बर १०मा रहेको यातायात व्यवस्था कार्यालय, कोशी राजमार्गबाट करिब १०० मिटरको दुरीमा छ। कार्यालयमा पुग्नका लागि दुई वटा बाटो प्रयोग हुन्छ।  पहिलो बाटो निजी रहेको दाबी गरिन्छ भनेँ दोस्रो दक्षिण तर्फको बाटोमा अहिले सरकारले नै पुल बनाएको छ। त्यहाँबाट पनि सहजै दक्षिण तर्फको लगभग त्यही दुरीमा अर्को गेट कार्यालय निर्माणको क्रममा नै बनाइएको थियो । पश्चिम तर्फबाट र दक्षिणबाट आउजाउ गर्न मिल्ने खालका ठुला ठुला सवारी प्रवेश गर्न मिल्ने खालको गेट हुँदा हुँदै भर्खरै दशैँको मुखमा फेरी पूर्व तर्फ पर्खाल भत्काएर अर्को गेट खोलिएपछि विवाद भएको छ। केही जग्गा व्यवसायीलाई फाइदा पुग्ने गरी कार्यालयको पूर्वपट्टि गेट खोलिएको हो। दसैँ बिदाअगाडि कार्यालयले रातारात पूर्वपट्टिको पर्खाल भत्काएर गेट निर्माण गरेपछि संसदीय समिति देखि अहिले सरकारको टाउको दुखाइको विषय बनेको छ।  उक्त गेट खोल्नका लागि लामो समयदेखि जग्गा व्यवसायीहरूले कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा लबिङ गर्दै आएका थिए।  लबिङको क्रममा केही मन्त्रीहरूले ती व्यवसायीलाई हप्काएर पठाएका थिए भनेँ केही मन्त्रीहरू अन्तिम अवस्थामा कुरा नमिलेर पछि हटेको स्रोतले जनाएको छ। पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री एवम् प्रदेश सभा सदस्य रेवती रमण भण्डारीले आफू मन्त्री हुँदा गेट खोल्न धेरै पटक दबाब आएको भए पनि आफूले बेवास्ता गरेको बताउँछन्। उनले भने, जग्गा व्यवसायीहरूले आफूलाई आर्थिक प्रलोभनसमेत देखाएका थिए। त्यस्तो अवैध काममा म नलाग्ने छनक पाएपछि उनीहरू व्याक हटेका थिए।
920084805_1850728976273551_1835465993043157853_n
अमुक व्यक्तिलाई फाइदा हुने गरी पूर्वपट्टि गेट खोल्न सहमति नदिएपछि अहिले फेरी त्यही ठाउँमा गेट खोलिएको विषयमा आफू अचम्मित भएको उनले सुनाए। उनले यो काममा आर्थिक चलखेल भएको हुनसक्ने भन्दै  को–को संलग्न छन् भन्न नसक्ने बताए। भण्डारीकै पालामा जग्गा व्यवसायीहरू मुख्यमन्त्री हिक्मत कार्कीको सचिवालयसम्म लबिङ गर्न पुगेका थिए। आन्तरिक मामिला मन्त्रीबाट भण्डारी हटेपछि व्यवसायीले तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीसँग समेत गेट खोल्ने विषयमा लबिङ थालेका थिए। उनीसँग पनि ३ पटकसम्म निवेदन लिएर पुगेका थिए। उनले यो विषयमा आफू विवादमा पर्ने डरले काम नै अघि नबढाउने निर्णयमा पुगेका थिए। मन्त्री पराजुलीको कार्यकालमा पनि गेट खोलिएको थिएन । तर, पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा सरेको केही दिनमै पूर्वपट्टि गेट खोलिएको छ। जुन  विवादास्पद बनेको छ।
कार्यालयको गेटभन्दा पूर्वपट्टि जग्गा प्लटिङ गरिएको छ। सोही प्लटिङलाई फाइदा पुग्ने गरी गेट खोलिएपछि आर्थिक चलखेल भएको भन्दै सर्वसाधारणले विरोधसमेत गरेका छन्। प्लटिङ गरिएको जग्गा धरान विराटनगर सडक खण्डको नजिकै भए पनि बाटोको अभावमा बिक्री हुन नसकेको स्थानीय बताउँछन्। उक्त जग्गा अहिले पनि झाडीमा परिणत भएको छ।
924338083_2947454626073219_310793278056589418_n
जग्गा व्यवसायीको सेटिङमा प्लटिङसम्म बाटो पुर्‍याउन सहज होस् भनेर गेट खोलिएपछि कोशी प्रदेश सभाको न्याय, प्रशासन तथा विधायन समितिले स्थलगत अनुगमन गरेर छानबिन थालेको हो।  यस अघिको समितिको बैठकमा गेट खोलिएको विषयमा मन्त्रीको जवाफ माग्दा मन्त्रीले आफूलाई गेट खोलिएको विषयमा थाहा नभएको बताएको छलफलमा समितिका सदस्यले बताएका थिए। मङ्गलवार भएको अनुगमनका क्रममा समितिका सदस्य तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रमेश बस्नेतले गेट खोलिनुको कारण, त्यसको निर्णय प्रक्रिया औचित्य माथि प्रश्न उठाएका थिए। 
अनुगमनका क्रममा समितिकी सदस्य शिला दीक्षित कार्कीले पनि गेट खोल्ने प्रक्रियाका बारेमा कार्यालय प्रमुख मानन्धरलाई प्रश्न गरिन् । समितिकी सभापति  दर्नालले जनगुनासो आएपछि आफूहरू अनुगमनमा आएको बताएकी थिइन्। उनले कार्यालयको सेवा प्रवाहसँगै गेट खोलिएको विषयमा पनि समितिको चासो रहेको उल्लेख गरिन्। कार्यालय प्रमुख मानन्धरले मन्त्रालयको निर्णयअनुसार नै गेट खोलिएको दाबी गरेका छन्।‘कार्यालयमा हेभी सवारीसाधन आउने बाटो नभएकाले पूर्वपट्टि गेट खोलिएको उनले दाबी गरेका छन्।
927082808_2325951191530082_2297163829803509442_nहेभी सवारी कार्यालयभित्र आउन नसक्दा बाटोमै राखेर सवारी जाँचपास गर्नुपरेकोले यो गेट खोलिएपछि सहज हुने उनले बताए।
पूर्वपट्टिबाट हेभी सवारी ल्याउन सकिने तर्क उनले गरे पनि उक्त बाटोमा रहेको पुलका कारण हेभी सवारी भित्रिन सक्ने अवस्था छैन। पुल बनेर हेभी सवारी आए पनि दक्षिण गेटबाटै कार्यालयमा प्रवेश गराउन सकिन्छ। दक्षिण गेट पार गरेपछि घुमाउरो सडकका कारण पूर्वी गेटमा पुग्न निक्कै समस्या रहेको छ। मानन्धरले स्थानीय वडाको माग भएकाले सोही विषयमा आफूले मन्त्रालयमा लेखेर पठाएको बताए। उनले मन्त्रालयको निर्णयको आधारमा पर्खाल भत्काएर गेट निर्माण गरिएको  दाबी गरेका मानन्धरले निर्णयका सन्दर्भमा मन्त्रालयले पठाएको पत्रबारे समितिलाई कुनै जवाफ दिएनन्। यो गेट खोल्ने सन्दर्भमा ठुलो आर्थिक चलखेलको आशङ्का गरिएको छ।  आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्ण सापकोटा आएपछि उनकै दबाबमा यो निर्णय भएको मन्त्रालय स्रोतले जनाएको छ। मन्त्रालयको यातायात महाशाखाले समेत यस बारेमा माथिल्लो तहको विषय भएकोले यस बारेमा थाहा नहुने प्रतिक्रिया दिए। 
923465187_987692527322269_2240958761255727346_n
आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले आफ्नो कार्यकालमा कुनै पनि त्यस्ता निर्णय र निर्देशन नभएको बताए। पूर्वपट्टि गेट खोलिएको विषयमा आफूलाई जानकारी भए पनि त्यसले गर्ने घाटा नाफाको विषय थाहा नभएको बताए। शेर्पा भन्छन्, ‘गेट खोल्ने विषयमा मन्त्रालयमा कुनै निर्णय भएको छैन, यदि भएको रहेछ भने मलाई थाहा छैन ।’ व्यापारीलाई फाइदा पुग्ने गरी भएको यो निर्णयको बारेमा जानकारी  लिन आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सापकोटालाई नेपाल खबरले पटक पटक फोन सम्पर्क गर्दा समेत उनी सम्पर्कमा  आएनन्।