सुनसरी — केपीएल कप अन्तर्राष्ट्रिय आमन्त्रण क्रिकेट प्रतियोगितामा इटहरी सुपर किङ्सले लगातार तेस्रो जित दर्ता गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको छ।

सोमबार लिग चरणअन्तर्गत भएको तेस्रो खेलमा मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी विराटनगरलाई ८ विकेटले पराजित गर्दै इटहरीले प्रतियोगितामा आफ्नो दबदबा थप बलियो बनाएको हो।WhatsApp Image 2026-06-29 at 19.38.29

१३४ रनको सामान्य लक्ष्य पछ्याएको इटहरीले मात्र १३.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

टोलीको जितमा शुभ कन्साकारले विस्फोटक ब्याटिङ गर्दै ३८ बलमा ७१ रनको शानदार इनिङ्स खेले। उनले २ चौका र ६ छक्का प्रहार गर्दै १८६.८४ को स्ट्राइक रेट कायम गरे। यस्तै दीपक डुम्रे ३६ बलमा ५१ रनमा अविजित रहँदा १ चौका र ५ छक्का प्रहार गरे।

शुभ र दीपकबीच दोस्रो विकेटका लागि बनेको मजबुत साझेदारीले खेललाई एकतर्फी बनाएको थियो।

ओपनर आकाश सर्राफ १ रनमा आउट हुँदा सुजन थापालिया रन नखोली अविजित रहे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको थियो।

मिल्सका लागि रितिक कामतले ३२ रन, इमरान शेखले ३१ रन तथा मुन्ना दासले अविजित २८ रन जोडे। इटहरीका बलरहरूले विपक्षीलाई ठूलो स्कोर बनाउन नदिँदा जितको आधार तयार भएको थियो।

लगातार तेस्रो जितसँगै इटहरीले ३ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ।

सोमबार नै सम्पन्न दोस्रो खेलमा छिन्नमस्ता लायन्सले भारतको आरएमएल स्पोर्ट्स एकेडेमीलाई १४ रनले हराउँदै महत्वपूर्ण जित निकालेको छ।

भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित डा. खलिल अजाद खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको छिन्नमस्ताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो।WhatsApp Image 2026-06-29 at 19.40.37

छिन्नमस्ताका लागि सन्तोष कार्कीले ४२ बलमा ७३ रनको आक्रामक इनिङ्स खेल्दा २ चौका र ८ छक्का प्रहार गरे। त्रितराज दासले ४९ बलमा ५४ रनको योगदान दिए।

१६९ रनको लक्ष्य पछ्याएको आरएमएल स्पोर्ट्स एकेडेमीले २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन मात्रै बनाउन सक्यो।

अमरचन्द्रले ४९ रन र अनुभव सिंहले ४० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। आदित्य पाण्डेले २३ तथा चक्रधर द्विवेदीले १९ रन जोडे।

यो जितसँगै छिन्नमस्ता लायन्स २ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ भने प्रतियोगिताको अंक तालिका अझ रोचक बनेको छ।