सुनसरी । केपीएल कप अन्तराष्टिय आमन्त्रण क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न लिग चरणका खेलमा छिन्नमस्ता लायन्स र भारतको आरएमएल स्पोट्र्स एकेडेमी विजयी भएका छन् ।
सुनसरीको भोक्राहनरसिंह स्थित डा. खलिल आजाद खेल मैदानमा सम्पन्न बुधबारको पहिलो खेलमा छिन्नमस्ता लायन्सले भारतको एचपीसीए पटना इन्डियालाई ५६ रनले पराजित गर्यो ।
छिन्नमस्ताले २० ओभरमा ७ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । जवाफमा एचपीसीए पटना २० ओभरमा ९ विकेट गुमाएर १२२ रनमा सीमित भयो ।
यो जितसँगै छिन्नमस्ताले ४ खेलबाट शतप्रतिशत जित निकाल्दै ८ अंक जोडेको छ । बुधबारनै सम्पन्न दोस्रो खेलमा भारतकै आरएमएल स्पोट्र्स एकेडेमीले मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीलाई ९ विकेटले सहज पराजित गर्यो ।
मिल्सले दिएको १५३ रनको लक्ष्य आरएमएलले १२.४ ओभरमै १ विकेटको क्षतिमा पूरा गर्यो ।
यो जितसँगै आरएमएलले ४ खेलबाट २ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ ।
जारी प्रतियोगिताको बुधबारसम्म छिन्नमस्ता लायन्स ८ अंकसहित शीर्षस्थानमा छ । इटहरी सुपर किङ्स ३ खेलमा लगातार तीन जितसहित ६ अंक बटुल्दै दोस्रो स्थानमा छ । इटहरीको त्यस्तै, केसीसी इन्डिया ३ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ ।
आरएमएल स्पोट्र्स एकेडेमी २ अंकसहित चौथो, एचपीसीए पटना इन्डिया २ अंकसहित पाँचौं र मिल्स क्रिकेट क्लब लगातार चार हारसहित अंकविहीन रहँदै पुछारमा छ ।











