सुनसरी । इटहरीमा जारी कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा फेयर फुटबल क्लब धरान सुनसरी फाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न खेलमा धरानले सृजनसिल महिला फुटबल क्लब तेह्रथुमलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधिनजिक पुगेको हो।

खेलको सुरुआतमै धरानले आक्रामक प्रदर्शन गर्दै दोस्रो मिनेटमै प्रजिता राईको गोलबाट अग्रता लिएको थियो।

त्यसपछि दोस्रो हाफको आठौं मिनेटमा पूजा रसाइलीले अर्को गोल थप्दै धरानको पकड बलियो बनाइन्।WhatsApp Image 2026-07-01 at 19.49.44 (1)

तेह्रथुमले खेलमा फर्कने प्रयासस्वरूप दोस्रो हाफको १२औं मिनेटमा सजिना साङ्गताममार्फत एक गोल फर्काए पनि बराबरीमा ल्याउन सकेन।

बाँकी समयमा दुबै टोलीबीच प्रतिस्पर्धात्मक खेल भए पनि थप गोल निस्कन नसक्दा धरानले २–१ को जित निकाल्दै फाइनल यात्रा तय गर्‍यो।

धरानको जितमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएकी प्रजिता राई ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन्।

अब प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल १८ असारमा हुनेछ, जहाँ आत्मा पवित्र एफसी मासेबुङ इलाम र इटहरी फुटबल क्लब इटहरी सुनसरीबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ।