सुनसरी । सुनसरीको इनरुवामा आयोजना हुने कोशी प्रदेश स्तरीय कराँते प्रतियोगितामा जिल्लाबाट २०० भन्दा बढी खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् ।
आयोजक नेपाल कराते महासंघ सुनसरीले बुधबार पत्रकार सम्मेलनमार्फत आगामी असार १९ र २० गते सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा हुने प्रतियोगितामा विभिन्न उमेर समूह र तौल समूहमा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितालाई प्रदेशस्तरमै कराँते खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोटको आधारका रूपमा लिइएको आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम हुने जिल्लाले नगद ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने जिल्लालाई २५ हजार र तेस्रो हुने जिल्लालाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिब १४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितालाई आगामी १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका रूपमा समेत हेरिनुका साथै यो प्रतियोगिताले प्रदेशको कराँते खेलकोस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।











