सुनसरी । कोसी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि इलामको आत्मा पवित्र एफसी मासेबुङ र फेयर फुटबल क्लब धरानबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक इटहरी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै इलामले फाइनल यात्रा तय गरेको हो ।

इटहरी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा इलामलाई जित दिलाउन बिमला चौधरीले निर्णायक गोल गरिन् ।

उनले पहिलो हाफको २३ औँ मिनेटमा हेमा चौधरीको उत्कृष्ट पासलाई सदुपयोग गर्दै बललाई जाली चुमाएकी थिइन् ।

उक्त गोल नै खेलको निर्णायक बन्यो । पहिलो हाफ दुवै टोलीबीच बराबरीको प्रतिस्पर्धा देखिए पनि दोस्रो हाफमा इलामले खेलमा पकड जमाउँदै आयोजकमाथि लगातार दबाब सिर्जना गरेको थियो ।

इटहरीले बराबरी गोल फर्काउने प्रयास गरे पनि इलामको सुदृढ रक्षापंक्तिको कारण सफल हुन सकेन ।

खेलको प्लेयर अफद म्याच बिमलानै घोषित भइन । उनलाई सो बापत नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव  ढकालले नगद ५ हजार पुरस्कार प्रदान गरे ।

निर्णायक जितसँगै इलामले फाइनलमा स्थान सुरक्षित गरेको छ भने यसअघि पहिलो सेमिफाइनल जितेको धरानसँग उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिता कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा भइरहेको हो ।