सुनसरी । इटहरी उद्योग वाणिज्य संघको असार २७ गते हुने निर्वाचनको माहौल उत्कर्षमा पुगेको छ ।
उद्योगी तथा व्यवसायीहरूको साझा संस्था मानिने संघको नेतृत्व चयनका लागि दुई बलिया प्यानल आमनेसामने हुँदा चुनावी माहौल निकै तातिएको छ । निर्वाचनमा एकातर्फ नेपाली काँग्रेस र नेकपा एमाले समर्थित गठबन्धनबाट नवराज काफ्ले नेतृत्वको प्यानल चुनावी मैदानमा छ भने अर्कोतर्फ नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा केही असन्तुष्ट काँग्रेस र राप्रपा निकट व्यवसायीहरूको साथमा गायत्री कटवालले प्रतिस्पर्धा गरिरहेकी छन् ।
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले घरदैलो, भेटघाट र प्रत्यक्ष संवादलाई तीव्र बनाएका छन् । अध्यक्ष पदका उम्मेदवार नवराज काफ्लेले नेतृत्व गरिरहेको ‘साझा समूह’ले व्यवसायीका समस्या सुन्दै आफ्नो योजनासमेत प्रस्तुत गरिरहेको छ ।
लामो समयदेखि उद्योग तथा व्यापार क्षेत्रमा सक्रिय काफ्ले पशुपति लाइभस्टक, पशुपति दूध उद्योग, पशुपति ट्रेड एन्ड सप्लायर्स तथा पशुपति होटेलका प्रबन्ध निर्देशक हुन् ।
उनले व्यवसायीका साझा समस्या समाधान, लगानीमैत्री वातावरण निर्माण, संस्थागत सुधार र नयाँ पुस्ताका उद्यमीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काफ्लेले आफू निर्वाचित भए संघलाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री संस्थाका रूपमा विकास गर्ने बताएका छन् ।
इटहरीमा वर्षौँदेखि देखिएका पार्किङ समस्या, घर बहाल कर, व्यावसायिक कर तथा अन्य नीतिगत जटिलता समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर पहल गर्ने उनको योजना छ ।
संघका अधिकांश सेवा डिजिटल माध्यमबाट उपलब्ध गराई व्यवसायीले सामान्य कामका लागि कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उनको दाबी छ । काफ्ले नेतृत्वको प्यानलमा वाणिज्य सदस्यतर्फ बलबहादुर न्यौपाने, जीवनकुमार न्यौपाने, महेश थापा, दिनेश धमला, सञ्जय साह, सञ्जीव खड्का, बलराम बस्नेत, सिनेन्ट रिजाल र सन्नी चौधरी उम्मेदवार छन् ।
उद्योग सदस्यतर्फ शिवप्रसाद भट्टराई, अभिषेक बस्नेत, किशन खेडिया र हरिप्रसाद तिम्सिना तथा महिला सदस्यतर्फ मीना ढकाल आचार्य र लीला राई मैदानमा छन् ।
एसोसिएट सदस्यतर्फ विनोद पौडेल भने सर्वसम्मत निर्वाचित भइसकेका छन् । यता, गायत्री कटवालको उम्मेदवारीले चुनावलाई झन् रोचक बनाएको छ । यसअघि काँग्रेसको आधिकारिक उम्मेदवार बन्ने तयारीमा रहेकी कटवाललाई अन्तिम समयमा पार्टीले समर्थन नगरी नवराज काफ्लेलाई अघि सारेपछि उनी स्वतन्त्र शैलीमा चुनावी मैदानमा उत्रिएकी हुन् ।
काँग्रेसभित्रको असन्तुष्ट समूह, नेकपा, माओवादी, रास्वपा तथा राप्रपाका केही व्यवसायी उनको पक्षमा खुलेर लागेका छन् । गायत्री कटवालको प्यानल भने अपूर्ण देखिएको छ । उद्योगतर्फ एक जना, महिलातर्फ दुई जना र वाणिज्यतर्फ नौमध्ये चार जनाको मात्रै उम्मेदवारी परेको छ ।
तर राजनीतिक समर्थनको बलियो घेराबन्दीले उनको उम्मेदवारीलाई प्रतिस्पर्धी बनाएको छ । निर्वाचनमा दलगत प्रभाव बढेको भन्दै आलोचना भइरहेको छ । व्यावसायिक संस्था राजनीतिक हस्तक्षेपबाट प्रभावित भएको भन्दै व्यवसायीहरू असन्तुष्टि जनाइरहेका छन् ।
तर यही दलीय ध्रुवीकरणले यस पटकको चुनावलाई प्रतिष्ठाको लडाइँ बनाएको छ । एकातर्फ काँग्रेस–एमाले गठबन्धनको बलियो सङ्गठनात्मक शक्ति छ भने अर्कोतर्फ असन्तुष्ट र वैकल्पिक राजनीतिक धारहरूको समर्थनसहित गायत्री कटवालको चुनौती ।
यही कारण इटहरी उद्योग वाणिज्य संघको यो निर्वाचनलाई निजी क्षेत्रको नेतृत्व चयन मात्र नभई इटहरीको भावी आर्थिक दिशा र व्यावसायिक वातावरणसँग जोडिएको महत्त्वपूर्ण प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।
यस पटकको निर्वाचनमा २ हजार ३ सय १५ मतदाता रहेका छन् ।
ती मतदाताले १९ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।