सुनसरी – केपीएल कप अन्तर्राष्ट्रिय आमन्त्रण टी–२० क्रिकेट प्रतियोगिताको उपाधि इटहरी सुपर किङ्सले जितेको छ।
वर्षाका कारण १०–१० ओभरमा सीमित गरिएको फाइनलमा छिन्नमस्ता लायन्सलाई १९ रनले पराजित गर्दै इटहरी च्याम्पियन बनेको हो।
सुनसरीको भोक्राहानरसिंह गाउँपालिकास्थित डा. खलिल अजाद खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको इटहरीले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १०७ रन बनायो। टोलीका लागि सुजन थपलियाले ३५ बलमा ३ चौका र ८ छक्काको मद्दतमा अविजित ७१ रनको विस्फोटक इनिङ्स खेले। अर्जुन घर्तीले १५ रनको योगदान दिए।
१०८ रनको लक्ष्य पछ्याएको छिन्नमस्ता लायन्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ८८ रन मात्रै बनाउन सक्यो। इटहरीका बलरहरूले सुरुदेखि नै कसिलो बलिङ गर्दै विपक्षीलाई दबाबमा राखे। अन्तिमसम्म छिन्नमस्ता लक्ष्यमा पुग्न नसक्दा इटहरीले १९ रनको जितसहित उपाधि उचाल्यो।

उपाधिसँगै इटहरी सुपर किङ्सले ट्रफीसहित २ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो। उपविजेता छिन्नमस्ता लायन्सले १ लाख २५ हजार रुपैयाँ तथा तेस्रो भएको भारतको आरएमएल स्पोर्ट्स एकेडेमीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो।
फाइनलका नायक सुजन थपलिया प्लेयर अफ द म्याच घोषित हुँदै ५ हजार रुपैयाँ नगदबाट पुरस्कृत भए। प्रतियोगितामा १३ विकेट लिएका छिन्नमस्ता लायन्सका पप्पु यादव बेस्ट बलर घोषित भए भने ३०५ रन बनाएका आरएमएल स्पोर्ट्स एकेडेमीका अनुभव सिंह बेस्ट ब्याटर चुनिए। उनीहरूले जनही १०–१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
इटहरी सुपर किङ्सका दीपक डुम्रे प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) घोषित भए। उनले प्रतियोगिताभर १०० रन बनाउनुका साथै ११ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे। उनले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

विजेता तथा उपविजेता टोलीका खेलाडीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव विप्लव घोष, भोक्राहानरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर, विश्वआदर्श एकेडेमीका प्राचार्य गणेश दुलाललगायतले पुरस्कार वितरण गरेका थिए।
केपीएल ग्रुपका अध्यक्ष अफजल हुसेनले नेपाल क्रिकेट संघ (क्यान) को प्रतियोगिता तालिका अनुकूल नभएकाले यस वर्ष कोशी प्राइड लिग आयोजना गर्न नसकिएको बताए। क्रिकेट गतिविधिलाई निरन्तरता दिन नेपाल–भारत दुईदेशीय आमन्त्रण टी–२० प्रतियोगिता आयोजना गरिएको उनको भनाइ थियो।
प्रतियोगितामा नेपाल र भारतका गरी ६ टोलीको सहभागिता रहेको थियो।











