विराटनगर । विराटनगरमा नक्कली नागरिकता र सरकारी कागजात बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विराटनगर स्थित न्यु डेली फोटो सर्भीसेजमा छापा मारेर नक्कली नागरिकता र सरकारी कागजात बनाउने गिरोहलाई पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा विराटनगर–६ का धनदेव राजवंशी र विराटनगर–११ का अशोक कुमार रहेका छन् । राजवंशी फोटो स्टुडियो सञ्चालक हुन् । 
उनीहरूले विराटनगर–११ महेन्द्र चोकमा रहेको फोटो स्टुडियोमा बसेर नागरिकता सहित सरकारी कागजात बनाउने गरेको खुलेको छ । फोटो स्टुडियोका सञ्चालक राजवंशी नै नक्कली नागरिकता बनाउने गिरोहको नाइके भएको प्रहरीले जनाएको छ  । प्रहरीले छापा मारेर खानतलासी गर्दा  क्रममा उक्त स्टुडियोबाट १२ थान तयारी अवस्थाका नक्कली नागरिकता फेला परेको छ  । यस्तै, दुई थान सवारी चालक अनुमति पत्र , दुई थान मोबाइल र एक थान कम्प्युटर सीपीयू पनि प्रहरीले बरामद गरेको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । 
गिरोहले जन्म दर्ता, विवाह दर्ता र मृत्यु दर्ताका प्रमाणपत्रहरू समेत किर्ते गर्ने गरेको पाइएको छ । प्रहरीले १० थान खाली जन्म दर्ता, एक थान विवाह दर्ता र एक थान मृत्यु दर्ताका खाली प्रमाणपत्रहरू बरामद गरेको छ । यस्तै, विवरण भरिएका १/१ थान जन्म, विवाह र मृत्यु दर्ताका प्रमाणपत्रसमेत फेला परेका छन्