इटहरी — उद्योग वाणिज्य संघ इटहरीको नयाँ नेतृत्व चयनका लागि शनिबार हुने निर्वाचनअघि अध्यक्षका उम्मेदवार नवराज काफ्ले नेतृत्वको साझा समूहले व्यवसायीको हितलाई केन्द्रमा राख्दै आठबुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा संघलाई राजनीतिक, सामाजिक, लैङ्गिक तथा आर्थिक विभाजनभन्दा माथि उठाएर सबै व्यवसायीको साझा संस्थाका रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
'दिन–रात व्यवसायीको साथ' भन्ने मूल नारासहित सार्वजनिक गरिएको घोषणापत्रमा व्यवसायीलाई समस्या पर्दा जुनसुकै समयमा पनि संघका पदाधिकारी प्रत्यक्ष रूपमा उपस्थित भई समन्वय र सहजीकरण गर्ने व्यवस्था गरिने उल्लेख छ।
समूहले अनावश्यक बजार बन्दको परम्परा अन्त्य गर्दै निर्भय वातावरणमा व्यापार–व्यवसाय सञ्चालन गर्ने, इटहरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार मेला, प्रदर्शनी र लगानी सम्मेलन आयोजना गरी व्यापार प्रवर्द्धन गर्ने योजना पनि अघि सारेको छ।
त्यस्तै, ‘मुठीदेखि मोबाइलसम्म’ अवधारणाअनुसार उद्योग वाणिज्य संघलाई पूर्ण रूपमा डिजिटल बनाइने, मोबाइल एपमार्फत सदस्यता नवीकरणदेखि सेवा प्रवाहसम्मका सुविधा उपलब्ध गराइने तथा डिजिटल मार्केटिङ र ई–कमर्ससम्बन्धी तालिम सञ्चालन गरिने प्रतिबद्धता जनाइएको छ।
प्रतिबद्धतापत्रमा घरबहाल करको दीर्घकालीन समाधानका लागि स्थानीय सरकारसँग समन्वय गर्ने, भ्याट तथा करसम्बन्धी समस्या समाधानका लागि नियमित तालिम सञ्चालन गर्ने तथा इटहरीलाई सूचना प्रविधि, नवप्रवर्तन र स्टार्टअप व्यवसायको केन्द्रका रूपमा विकास गर्ने योजना पनि समेटिएको छ।
महिला उद्यमशीलतालाई प्राथमिकतामा राख्दै डिजिटल मार्केटिङ, वित्तीय व्यवस्थापन र कर प्रणालीसम्बन्धी तालिम सञ्चालन गर्ने, महिला उद्यमीको वित्तीय पहुँच विस्तार गर्ने तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने समूहले जनाएको छ।
पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ इटहरीका वर्तमान अध्यक्ष जीवन पराजुलीले आफ्नो कार्यकालमा पूरा हुन नसकेका योजनालाई नवराज काफ्ले नेतृत्वको समूहले निरन्तरता दिँदै सम्पन्न गर्ने विश्वास व्यक्त गरे।










