विराटनगर ।  कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन थालिएको छ । सोमबार बिहानैबाटै अस्पताल चोक र देवकोटा चोक क्षेत्रमा डोजर परिचालन गरेको छ । 
सम्भावित अवरोध रोक्न ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अस्पतालको जग्गामा विभिन्न सङ्घ संस्थाले व्यावसायिक प्रयोजनका लागि भवन निर्माण गरेका छन्  । ती भवनबाट ती सस्थाहरुले भाडा समेत उठाउँदै आएका थिए । अस्पतालले पटक पटक ती संरचना हटाउन प्रयास गर्दा समेत हटाउन सकेको थिएन ।  

अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरेका छन्। ती संस्थाले ३० भन्दा बढी सटर औषधि पसल, चिकित्सकलगायत तेस्रो पक्षलाई भाडामा दिएका थिए । अस्पतालले आफ्नो गुरुयोजना कार्यान्वयनका लागि लामो समयदेखि संरचना हटाउन ताकेता गर्दै आएको थियो ।

गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले स्थलगत अनुगमनका क्रममा संरचना खाली गराउन निर्देशन दिएका थिए । त्यस लगत्तै अस्पताल प्रशासनले सात दिनभित्र संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको थियो । जसको म्याद सोमबार सकिएको छ । म्याद सकिएसँगै एकाबिहानैबाट डोजर परिचालन गरिएको हो ।

अस्पतालको अभिलेखअनुसार नेपाल क्षयरोग निवारण संस्थाले ६ कट्ठा ८ धुर र नेपाल रेडक्रस सोसाइटीले करिब २ कट्ठा जग्गा वर्षौँदेखि प्रयोग गर्दै आएका थिए । गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले पनि सडक मोहडामा सटर निर्माण गरी व्यावसायिक प्रयोजनमा प्रयोग गर्दै आएका थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। चन्द्रभाल झाले सबै अतिक्रमित संरचना हटाएर जग्गा आफ्नै सेवा विस्तार र संस्थागत प्रयोजनमा उपयोग गरिने बताए । जथाभाबी निर्माण गरिएका संरचना डोजर चलाएर भत्काइएपछि वर्षौँदेखिको अतिक्रमण अन्त्य भई अस्पतालले आफ्नो सम्पत्ति निर्बाध रूपमा उपयोग गर्न पाउने उनको भनाइ छ ।

अस्पतालको जग्गामा बनाइएका भवन भत्काउँदा मानवीय सेवामा सञ्चालन रहेका रेडक्रस र क्षयरोग निवारण सस्थाहरुलाई समस्या परेको छ । रेडक्रसको भवनमा रक्त सञ्चा सेवा समेत रहेको थियो ।