सुनसरी । सन् २०२६ फिफा विश्वकपको हालसम्मको प्रदर्शनलाई हेर्दा फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे र स्पेनका युवा प्रतिभा लामिन यामालबीच स्पष्ट भूमिका र शैलीको अन्तर देखिएको छ।

बीबीसीले अप्टा (Opta) को तथ्याङ्कका आधारमा सार्वजनिक गरेको तुलना अनुसार एम्बाप्पे गोल गर्ने प्रभावकारितामा निकै अगाडि छन् भने यामाल खेल निर्माण र व्यक्तिगत सीपमा बलिया देखिएका छन्।

एम्बाप्पेले ५१८ मिनेट खेल्दै ८ गोल गरेका छन्। उनले ३० प्रहारमध्ये २७ प्रतिशतलाई गोलमा परिणत गरेका छन्। उनको अपेक्षित गोल (Expected Goals/xG) ५.४ रहेको छ, जसले उनले अपेक्षाभन्दा बढी प्रभावकारी रूपमा अवसरको सदुपयोग गरेको देखाउँछ। उनले ३ असिस्ट पनि दिएका छन् भने १६ गोलका अवसर सिर्जना गरेका छन्।

यता, ४०५ मिनेट खेलेका १८ वर्षीय लामिन यामालले भने २३ प्रहारबाट मात्र १ गोल गरेका छन्। उनको शट कनभर्सन दर ४ प्रतिशत मात्रै रहेको छ भने अपेक्षित गोल (xG) १.५ छ। उनले हालसम्म असिस्ट गर्न नसके पनि अपेक्षित असिस्ट (xA) १.० रहेको छ, जसले उनले सिर्जना गरेका अवसरलाई सहकर्मीले सदुपयोग गर्न नसकेको संकेत गर्छ।

ड्रिब्लिङमा भने यामाल स्पष्ट रूपमा अगाडि देखिन्छन्। उनले ४६ पटक ड्रिब्लिङ प्रयास गर्दा २१ पटक सफल भएका छन्, अर्थात् ४६ प्रतिशत सफलता दर।

एम्बाप्पेले ३० पटक ड्रिब्लिङ प्रयास गर्दा १० पटक मात्र सफल भएका छन्, उनको सफलता दर ३३ प्रतिशत छ। रक्षात्मक योगदानमा पनि यामालको उपस्थिति बढी देखिन्छ।

उनले ८ ट्याकल गरेका छन् भने विपक्षीको अन्तिम तेस्रो क्षेत्रमा ८ पटक बल पुनः आफ्नो टोलीको नियन्त्रणमा ल्याएका छन्।

एम्बाप्पेको नाममा भने १ ट्याकल र अन्तिम तेस्रो क्षेत्रमा ४ पटक मात्र बल जितेको तथ्याङ्क छ। यी तथ्याङ्कले दुवै खेलाडीको भूमिका फरक रहेको स्पष्ट पार्छ।

एम्बाप्पे टोलीका मुख्य गोलकर्ता र खेलको अन्तिम नतिजा तय गर्ने खेलाडीका रूपमा देखिएका छन्।

यामाल भने अवसर सिर्जना गर्ने, विपक्षीलाई ड्रिब्लिङमार्फत दबाबमा राख्ने र टोलीको आक्रमण निर्माण गर्ने भूमिकामा बढी प्रभावशाली देखिएका छन्।