सुनसरी । कोसी प्रदेशभर ट्राफिक कारबाही र त्यसबाट उठ्ने जरिवाना रकम दुवैमा उल्लेख्य गिरावट आएको छ ।

आर्थिक वर्ष २०८१/८२ को तुलनामा २०८२/८३ मा सवारी कारबाही ५६ प्रतिशत र जरिवानाबाट सङ्कलित राजस्व ४२ प्रतिशतले घटेको हो ।

कार्यालयले सार्वजनिक गरेको तुलनात्मक विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा प्रदेशभर २ लाख १३ हजार ६९५ वटा सवारी कारबाही गरिएको थियो । यो संख्या आर्थिक वर्ष २०८२/८३ मा घटेर ९५ हजार ७७ मा सीमित भएको छ । अर्थात् एक वर्षमै १ लाख १८ हजार ६१८ कम सवारीमाथि कारबाही गरिएको छ ।

त्यस्तै, जरिवानाबाट सङ्कलित राजस्व पनि उल्लेख्य रूपमा घटेको छ । अघिल्लो आर्थिक वर्षमा १६ करोड २९ लाख ७१ हजार ५५१ रुपैयाँ राजस्व सङ्कलन भएकोमा गत आर्थिक वर्षमा ९ करोड ४१ लाख ७२ हजार ८२४ रुपैयाँ मात्रै उठेको छ ।

यसरी जरिवाना राजस्वमा ६ करोड ८७ लाख ९८ हजार ७२७ रुपैयाँ (४२ प्रतिशत) को कमी आएको तथ्याङ्कले देखाउँछ ।

जिल्लागत रूपमा हेर्दा कारबाही सबैभन्दा धेरै इलाममा ६८ प्रतिशतले घटेको छ । त्यसपछि उदयपुर र सोलुखुम्बुमा ६४–६४ प्रतिशत, सुनसरी र खोटाङमा ६३–६३ प्रतिशत तथा झापा, मोरङ र सङ्खुवासभामा ५६ प्रतिशतले कारबाही घटेको छ ।

राजस्व सङ्कलनतर्फ पनि सबैभन्दा ठुलो गिरावट सोलुखुम्बुमा ५८ प्रतिशत देखिएको छ । त्यसपछि सुनसरी र खोटाङमा ५४–५४ प्रतिशत, उदयपुरमा ५३ प्रतिशत र इलाममा ५० प्रतिशतले जरिवाना रकम घटेको छ ।

कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी दीपक गिरीले कारबाहीमा आएको कमीलाई प्रहरीको निष्क्रियतासँग जोडेर हेर्न नहुने बताए । उनका अनुसार जेनजी आन्दोलनका कारण लामो समय नियमित ट्राफिक अनुगमन प्रभावित भएको थियो ।

त्यस लगत्तै भएको निर्वाचनमा ट्राफिक प्रहरीसमेत सुरक्षा व्यवस्थापनमा परिचालित हुनुपरेकाले नियमित चेकजाँच र कारबाही प्रभावित भएको उनले बताए ।

एसपी गिरीका अनुसार पछिल्लो समय ट्राफिक प्रहरीले जरिवानामुखी अभियानभन्दा सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

विद्यालय, सार्वजनिक स्थल, यातायात व्यवसायी र चालकलाई लक्षित गरी ट्राफिक नियम पालना, सुरक्षित सवारी सञ्चालन र दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिइएकाले पनि कारबाहीको संख्या घटेको उनको भनाइ छ ।