इटहरी । नाटक ‘पापशाला’ इटहरीमा मञ्चन हुने भएको छ। विश्वआर्दश कलेज तथा तथा एस.क्यु. सि. ग्रुपको आयोजनामा भोली साउन ३ गते र ४ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा नाटक मञ्चन हुने भएको हो ।
नाटक बिहान ११ बजे र दिउँसो ३ बजे गरी दुई शो प्रर्दशन हुनेछ । यस अघि काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफल मञ्चन पछि इटहरीमा मञ्चन गर्न लागिएको हो ।
‘पापशाला’ विश्वप्रसिद्ध फ्रान्सेली अस्तित्ववादी दार्शनिक जाँ–पल सार्त्रको चर्चित नाटक ‘No Exit’ को नेपाली रूपान्तरण हो। नेपाली परिवेश, पात्र र समाजको मनोविज्ञानलाई केन्द्रमा राखेर गरिएको यस रूपान्तरणले मौलिक स्वाद प्रदान गरेको लेखक सुगम दुलालले जानकारी दिए । दुलालका अनुसार, मनोवैज्ञानिक द्वन्द्व र अस्तित्वको खोज नै नाटकको मुख्य कथावस्तु हो।
नेपाली परिवेशमा ढालिएर गरिएको प्रस्तुतीकरणले दर्शकलाई कथा सहज रूपमा आत्मसात् गर्न मद्दत गर्ने नाटकमा निर्देशक प्रजल दुलालले बताए ।
नाटकले मानिसको स्वतन्त्रता, जिम्मेवारी, आत्मपहिचान र अरूको दृष्टिले हाम्रो अस्तित्व कसरी परिभाषित हुन्छ भन्ने गहिरो अस्तित्ववादी प्रश्न उठाएको प्रजल बताउँछन् ।

फ्रान्सेली नाटकलाई सुगम दुलालले नेपाली रुपान्तरण गरेका हुन भने निर्देशन प्रजल दुुलालले गरेका हुन । दुलाल ब्रदर्श इटहरीका कलाकार हुन । काठमाडौंमा सफल मञ्चनपछि आफ्नै रङकर्मको थलो इटहरीमा आफ्नै दर्शकमाझ उभिन पाउँदा खुसीसँगै उत्साहित रहेको उनीहरुको भनाई छ ।
आफुहरुले गरेको मेहनतलाई इटहरीका कला, साहित्य र नाटकप्रेमी, पत्रकार, व्यवसायी, अभियन्ता तथा सम्पूर्ण नगरवासीहरुले नाटक हेरेर नेपाली रङ्गमञ्चलाई साथ दिन उनीहरुले आग्रह पनि गरेका छन्।
यता नाटक मञ्चनको व्यवस्थापन मिलाएको विश्व आदर्श कलेजका प्राचार्य गणेश दुलालले नाटकका लेखक सुगम दुलाल र निर्देशक प्रजल दुलालसँगै अधिकांश कलाकार लामो समय इटहरीमा ‘कलालय इटहरी’ का रहेकाले आफुहरु पनि उत्साहित रहेको बताएका छन् ।

इटहरीका कलाकारले काठमाण्डौँमा नाटक मञ्चन गरेर राम्रो चर्चा बढुलेको नाटकलाई आफ्नै भूमिमा मञ्चन गर्नु इटहरीका लागि खुसी र गर्वको कुरा भएको उनले बताए । इटहरीको रङ्गमञ्चलाई थप अगाडी बढाउन आफुहरुले व्यवस्थापन गरेको उनले स्पष्ट पारे ।
नाटकमा अबिन ठटाल, लुमन्ती महर्जन, सुगम दुलाल र प्रजल दुलालको अभिनय रहेको छ। नाटकमा संगीत विश्वकर्माको संगीत र सुरभी प्याकुरेलको गायन रहेको छ। कार्भिका पोखरेलको सिर्जनात्मक निर्देशन रहेको छ ।










