सुनसरी । मनसुन सक्रिय भएसँगै सप्तकोसी नदीमा जलप्रवाह बढ्न थालेपछि सम्भावित कटान र बाढीजन्य जोखिम न्यूनीकरणका लागि सुनसरी प्रशासनले भारतीय पक्षसँग समन्वय तीव्र पारेको छ ।
कोसी ब्यारेजदेखि चतरासम्मका बाँध तथा स्परको अवस्थाबारे नियमित निगरानीसँगै आवश्यक मर्मत–सम्भार समयमै गर्न प्रशासनले भारतीय अधिकारीहरूलाई आग्रह गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कोसी सम्झौता अनुसार कोसी ब्यारेजदेखि उत्तर चतरासम्मका बाँध तथा संरचनाको मर्मत–सम्भार गर्ने दायित्व भारतीय पक्षकै रहेको बताए ।
त्यसअनुसार भारतीय समकक्षी अधिकारीहरूसँग निरन्तर समन्वय भइरहेको उनले जानकारी दिए ।
“मनसुनको समयमा नदीको बहाव अचानक बढ्न सक्ने भएकाले बाँध, स्पर र ब्यारेज आसपासका संरचनाको अवस्था नियमित रूपमा निगरानी गर्न तथा आवश्यक मर्मतमा ढिलाइ नगर्न भारतीय पक्षलाई अनुरोध गरेका छौँ,“ घिमिरेले भने ।
सुनसरी प्रशासनका अनुसार कोसी ब्यारेज क्षेत्र र सप्तकोसी नदीको तटीय बाँध आसपासको निरीक्षणलाई समेत तीव्र बनाइएको छ ।
नदीको बहाव, कटानको अवस्था र सम्भावित जोखिमको निरन्तर मूल्याङ्कन गर्दै आवश्यक समन्वय भइरहेको प्रशासनको भनाइ छ ।
कोसी नदी प्रत्येक वर्ष मनसुनमा उच्च जोखिमको केन्द्र बन्दै आएको छ ।
जलप्रवाह बढेसँगै तटीय क्षेत्रमा कटान, बाँधमा दबाब तथा तल्लो तटीय बस्तीमा बाढीको जोखिम बढ्ने भएकाले समयमै संरचनाको मर्मत र निगरानीलाई विशेष महत्त्व दिइन्छ ।
नेपाल–भारतबिच भएको कोसी सम्झौताअनुसार कोसी ब्यारेज र त्यससँग सम्बन्धित मुख्य संरचनाको सञ्चालन तथा मर्मत–सम्भारको जिम्मेवारी भारतीय पक्षको छ ।
त्यसैले मनसुन सुरु भएसँगै दुवै देशका प्रशासनबिच समन्वय बढाउने अभ्यास विगतदेखि नै हुँदै आएको घिमिरेले बताए ।
विगतका वर्षहरूमा कोसीको बढ्दो बहावका कारण विभिन्न स्थानमा बाँध तथा स्परमा क्षति पुगेका घटनाले समेत मनसुनपूर्व तयारीलाई संवेदनशील विषय बनाएको घिमिरेको भनाई छ ।
प्रशासनले नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई पनि नदीको बहाव र मौसमसम्बन्धी सूचनामा ध्यान दिन तथा आवश्यक परे सुरक्षित स्थानमा जान तयार रहन आग्रह गरेको छ ।