इटहरी । फिफा विश्वकप २०२६ को बहु प्रतीक्षित फाइनल खेललाई लक्षित गर्दै इटहरीमा सामूहिक ’लाइभ स्क्रिनिङ’ कार्यक्रम आयोजना हुने भएको छ । आयोजकले सार्वजनिक गरेको निमन्त्रणा अनुसार स्पेन र अर्जेन्टिनाबिच हुने फाइनल खेल इटहरी ९ स्थित जुट विकास टोल विकास संस्थाको भवनमा ठुलो पर्दामार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।
आइतबार मध्यराती १२ः४५ बजेदेखि सुरु हुने खेलको लागि विशेष तयारी गरिएको आयोजक सुरज घिमिरेले जानकारी दिए ।
आयोजकले सबै फुटबल प्रेमीलाई कार्यक्रममा सहभागी भई विश्वकपको रोमाञ्च एकसाथ अनुभव गर्न आग्रह गरेको छ ।
पछिल्ला वर्षहरूमा नेपालका विभिन्न सहरमा विश्वकप र युरोकपजस्ता अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका महत्त्वपूर्ण खेलहरू सामूहिक रूपमा ठुलो पर्दामा हेर्ने संस्कृति विस्तार हुँदै गएको छ ।
इटहरीमा पनि फुटबल समर्थकहरूको बढ्दो उत्साहलाई मध्यनजर गर्दै यस पटक सुरुवात देखी नै ठुलो पर्दामा खेल देखाइएको घिमिरेले बताए ।
आज अन्तिम दिन फाइनल खेलको सार्वजनिक प्रदर्शनको तयारी गरिएको उनले बताए ।
कार्यक्रम सबैका लागि खुला रहने उल्लेख गर्दै आयोजकले खेल प्रेमीलाई समयमै उपस्थित भई विश्व फुटबलको सबैभन्दा ठुलो प्रतिस्पर्धाको फाइनलको रोमाञ्च सँगै अनुभव गर्न आग्रह गरेको छ ।











