इटहरी । सुनसरी जिल्ला अदालतमा आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका तथा जिम्मेवारी सरेका गरी ९ हजार ५५२ वटा मुद्दामध्ये ५ हजार ७९८ वटा फर्छ्योट भएका छन् भने ३ हजार ७५३ वटा मुद्दा अझै विचाराधीन रहेका छन्।

अदालतको तथ्याङ्कअनुसार कुल मुद्दामध्ये सबैभन्दा धेरै ६ हजार ४२३ वटा ‘अन्य’ शीर्षकका मुद्दा रहेका छन्। तीमध्ये ४ हजार ७९ वटा फर्छ्योट भएका छन् भने २ हजार ३४४ वटा मुद्दा अझै टुङ्गिन बाँकी छन्।

पारिवारिक विवादतर्फ सम्बन्ध विच्छेदका १ हजार २४१ मुद्दा दर्ता भएका थिए। तीमध्ये ९३६ वटा फर्छ्योट हुँदा ३०५ वटा मुद्दा विचाराधीन छन्।

यस्तै, अंशसम्बन्धी ९४२ मुद्दामध्ये ४०७ वटा फर्छ्योट भएका छन् भने ५३५ वटा अझै विचाराधीन रहेका छन्।

त्यसैगरी, जग्गा खिचोला सम्बन्धी ३५४ मुद्दामध्ये ६९ वटा मात्र फर्छ्योट भएका छन् भने २८५ वटा विचाराधीन छन्। बालबालिका सावालक समेतका ३०२ मुद्दामध्ये १९६ वटा फर्छ्योट हुँदा १०६ वटा बाँकी छन्।

यस्तै, मानाचामलका ८४ मुद्दामध्ये ३१ वटा फर्छ्योट भई ५३ वटा विचाराधीन छन्।

ज.क. सम्बन्धी १२१ मुद्दामध्ये ४८ वटा फर्छ्योट हुँदा ७३ वटा बाँकी छन् भने क.ज्ञान सम्बन्धी ८५ मुद्दामध्ये ३२ वटा फर्छ्योट भई ५३ वटा विचाराधीन रहेका छन्।

तथ्याङ्कअनुसार बालबालिका मात्र भएको ७० वटा मुद्दामध्ये कुनै पनि फर्छ्योट हुन सकेको छैन, सबै ७० वटा मुद्दा अझै विचाराधीन छन्।

समग्रमा हेर्दा, सुनसरी जिल्ला अदालतले कुल मुद्दाको करिब ६१ प्रतिशत फर्छ्योट गरेको देखिए पनि झन्डै ३९ प्रतिशत मुद्दा अझै विचाराधीन रहनुले अदालतमा मुद्दाको चाप कायमै रहेको संकेत गरेको छ।