इटहरी । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले प्रदेश सरकारको नेतृत्व र निर्णय प्रक्रियामा सङ्घीय नेतृत्वको हस्तक्षेपका कारण राजनीतिक अस्थिरता बढेको बताएका छन्। इटहरीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले प्रदेश सरकारलाई आफ्नो निर्णय आफैँ गर्न नदिइँदा सङ्घीयताको वास्तविक मर्म नै कमजोर भएको बताए ।
उनले प्रदेश सरकार गठन र नेतृत्व परिवर्तनको निर्णय अझै पनि सङ्घीय नेतृत्वले गरिरहेकोमा असन्तुष्टि व्यक्त गरे । उनले भने, अहिले पनि प्रदेश सरकार बन्ने निर्णय सङ्घीय नेतृत्व तहले गरिरहेको छ। प्रदेश सरकारले आफ्नो काम आफैँ गर्न पाइरहेको छैन । यो सरकार आफ्नो खुट्टामा उभिन नसकेको भान जनतामा परेको छ । उनले कोशी प्रदेशको निर्णय कोशीकै नेतृत्वलाई र मधेसको निर्णय मधेसकै नेतृत्वलाई सुम्पिनुपर्ने बताए ।
उनले प्रदेश सरकारको आयु कहिले १५ दिन, कहिले एक महिना त कहिले एक वर्ष मात्र हुँदा दिगो विकासको लक्ष्य हासिल गर्न नसकिएको बताए । उनले भने, एउटा सरकारले बजेट ल्याउने र त्यो कार्यान्वयन नहुँदै सरकार ढल्ने, अनि अर्को सरकार आएर पूरक बजेट ल्याउने परिपाटीले समस्या निम्तिएको छ ।
उनले अस्थिरताले गर्दा जनतामा प्रदेश सरकारप्रति वितृष्णा जाग्ने खतरा बढेको बताए । उनले सङ्घीयतालाई बलियो बनाउन सङ्घीय सरकारले आवश्यक ऐनहरू छिटो बनाइदिनुपर्ने र प्रदेशलाई आफ्नो निर्णय आफैँ गर्ने अधिकार दिनुपर्ने माग राखे ।











