विराटनगर — नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले मोरङको रानी नाकामा आइतबारदेखि बोर्डर इन्टेलिजेन्स टिम (बीआईटी) परिचालन गरेको छ।
विशेष तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारी सम्मिलित उक्त टोलीलाई सीमा क्षेत्रमा हुने गतिविधिको निगरानी, चोरी–पैठारी नियन्त्रण, स्थानीय बासिन्दासँग समन्वय, सूचना सङ्कलन तथा आदानप्रदान र सीमापार हुने विभिन्न चुनौतीको समयमै पहिचान तथा नियन्त्रणका लागि परिचालन गरिएको सशस्त्र प्रहरी बल मोरङले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार बीआईटी परिचालनसँगै सीमा क्षेत्रमा स्थानीय समुदायसँगको सहकार्य थप मजबुत हुने, सूचना प्रणाली सुदृढ बन्ने र सीमा सुरक्षा व्यवस्थापनलाई आधुनिक, समन्वयात्मक तथा जनमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सशस्त्र प्रहरी बलले साउन १० गतेदेखि नेपाल–भारत सीमाका प्रमुख नाकाहरूमा बीआईटी परिचालन गर्ने नीति लागू गरेको हो।
सोअनुसार झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगञ्ज, रुपन्देहीको डण्डा, बाँकेको जमुनाह र कैलालीको त्रिनगर नाकामा सशस्त्र प्रहरी नायव निरीक्षक (सई) को कमान्डमा प्रत्येक स्थानमा १४ सदस्यीय टोली खटाइएको छ।
उक्त टोली सम्बन्धित क्षेत्रका सशस्त्र प्रहरी बलका सीमा सुरक्षा गुल्ममा तैनाथ रही मुख्य सीमा नाकाहरूमा परिचालन हुनेछ। टोलीमा प्रत्येक सिफ्टमा कम्तीमा एक जना महिला सशस्त्र प्रहरी कर्मचारी अनिवार्य रूपमा रहने व्यवस्था गरिएको छ।
बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म टोलीका सदस्यहरू सादा पोसाक (सफारी सुट) मा परिचालित हुनेछन्।
सशस्त्र प्रहरीका अनुसार सीमा क्षेत्रमा हुने गतिविधिबारे सूक्ष्म सूचना सङ्कलन, स्थानीय समुदायसँग विश्वासको सम्बन्ध विस्तार तथा अवैध आवतजावत र सीमापार हुने आपराधिक गतिविधिमाथि प्रभावकारी निगरानी राख्ने उद्देश्यले बीआईटी अवधारणालाई कार्यान्वयनमा ल्याइएको हो।











