इटहरी । सुनसरीको हरिनगर र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा जारी भएको छ ।  जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका दुईवटा गाउँपालिकामा निषेधाज्ञा जारी गरेको हो । दुई समुदायका बिचमा  आइतबार राती भएको झडप पछि स्थिति नियन्त्रणमा लिन निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले आज बिहान ७ बजेदेखि ७ बजे सम्मका लागि निषेधाज्ञा जारी भएको बताए । प्रशासनको आदेश अनुसार तोकिएको क्षेत्र र समयभित्र एकै ठाउँमा ५ जनाभन्दा बढी मानिस भेला जम्मा हुन पाउने छैनन्। 

बोल बम जाने युवाहरूले डिजे बजाएको विषयमा साँझ दुई समूहका बिचमा विवाद भएको थियो । विवादले उग्र रूप लिएपछि घर तथा सवारी साधनमा तोडफोड भएको थियो । तोडफोड र हिंसा पछि प्रहरीले बल प्रयोग गरेको थियो । बल प्रयोगका क्रममा एक जनाको मृत्यु भएको छ ।१६ जना भन्दा बढी घाइते भएका छन् । 

दुई समुह बिचको झडप नियन्त्रणाका क्रममा प्रहरीको गोली लागि स्थानिय ओमप्रकाश मेहताको मृत्यु भएको हो । राती भएको झडपमा प्रहरी र प्रदर्शनकारी गरी १६ जना भन्दा बढि घाइते भएका छन् । सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याइएको थियो ।

अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । दुई समूहबीच उत्पन्न विवाद झडपमा परिणत हुँदै हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। उक्त घटनामा गोली लागेर ८ जना सर्वसाधारण घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार झडपमा घाइते भएका २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको कोशी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ । झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । राईको टाउकोमा चोट लागेको छ ।

प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव पनि घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिए पनि घटना सामान्य भइसकेको छैन । दुवै पक्षका युवाहरू प्रदर्शनमा निस्कने तयारीमा छन् ।