सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि उत्पन्न तनाव साम्य पार्न बसेको सर्वदलीय बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी)लाई हटाउनुपर्ने माग उठेको छ।

दुई समुदायबीचको झडपपछि जिल्ला प्रशासन कार्यालय इनरुवामा बसेको सर्वदलीय बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीका सचिव राजाराम मेहताले प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र जिल्ला प्रहरी प्रमुख एसपी केशव थेबेलाई तत्काल जिल्लाबाट हटाउनुपर्ने माग गरेका हुन्।

उनले घटनामा प्रशासन र प्रहरीको भूमिका विवादास्पद रहेको दाबी गर्दै निष्पक्ष छानबिनका लागि जिम्मेवार अधिकारीहरूलाई हटाउनुपर्ने धारणा राखे।

रास्वपाका अन्य केही नेताले पनि उनको मागमा समर्थन जनाएका थिए।

बैठकले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा जिल्लामा शान्ति र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित हुन आग्रह गरेको कांग्रेस सुनसरीका सचिव वीरेन्द्र शाहले जानकारी दिए।

यसअघि घटनास्थल पुगेका सुनसरी–२ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले देवानगञ्ज घटनामा प्रहरीबाट गोली चलाउनु आवश्यक नभएको दाबी गरेका थिए।

उनले नागरिकमाथि गोली चलाउनु कुनै पनि अवस्थामा स्वीकार्य नहुने भन्दै घटनाको निष्पक्ष छानबिन, उच्चस्तरीय छानबिन समिति गठन तथा दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।

थापाले घटनाका बेला प्रशासन र सुरक्षा निकायबीच आवश्यक समन्वयको अभाव देखिएको आरोप लगाउँदै प्रमुख जिल्ला अधिकारीसँग स्पष्ट जानकारी नपाएको र जिल्ला प्रहरी प्रमुखले फोनसमेत नउठाएको गुनासो गरे।

यद्यपि, जिल्ला प्रहरी प्रमुख एसपी केशव थेबे भने घटनाका बेला तीन दिनदेखि बिदामा रहेको स्रोतले जनाएको छ।

यस्तै, सुनसरी–४ का प्रतिनिधिसभा सदस्य अशोक चौधरीले पनि प्रहरी–प्रशासनको भूमिका सन्तोषजनक नरहेको टिप्पणी गर्दै घटनामा संलग्न जिम्मेवार अधिकारीलाई तत्काल निलम्बन गरी निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।

उता, गृह मन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गरिसकेको छ भने प्रशासनले शान्ति–सुरक्षा कायम राख्न सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ।