विराटनगर । सुनसरीको देवानगञ्जमा भएको घटनाका विषयमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान थालेको छ । आइतबार राती दुई समुदायबिच भएको झडप र प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थालेको हो  ।
आयोगले विज्ञप्ति जारी गर्दै कोशी प्रदेश कार्यालयले प्रारम्भिक अनुगमन गरिरहेको जनाएको छ । विज्ञप्तिमा आयोगको टोलीले प्रमुख जिल्ला अधिकारी, सुनसरी प्रहरी प्रमुख, अस्पताल प्रशासन र स्थानीयवासी सँग घटनाबारे जानकारी लिइरहेको उल्लेख छ । केही दिन अघि गाउँ पालिकाले बनाएको सोलार लाइटको पोलमा झन्डा राख्ने विषयमा सुरु भएको विवाद डिजे बजाउने क्रममा उत्कर्षमा पुगेको र तोडफोड तथा झडपमा परिणत भएको आयोगले जनाएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु हुनुका साथै ९ जना घाइते भएको अनुगमनमा पाइएको विज्ञप्तिमा उल्लेख छ ।  घाइतेमध्ये  घाइतेहरूको न्युरो अस्पताल, विराट नर्सिङ होम र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।