सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोक चौधरीले देवानगञ्ज हिंसा पछि विकास भएको परिस्थितीमा शान्ति तथा सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन् । 

जिल्लाबासीलाई एक अपिल जारी गर्दै सांसद चौधरीले दुःखद घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सवाद र समन्वयबाट समस्याको समाधान गर्न आग्रह गरेका छन् । 

घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । उक्त समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ । 

छानबिन समिति बनिसकेको अवस्थमा छानबिनका क्रममा दोषी पाइएका जोसुकै व्यक्ति वा निकायलाई नेपालको प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने कुरामा आश्वस्त हुन उनले आग्रह गरेका छन् । 

सांसद चौधरीले गम्भिर परिस्थितीमा नागरिकहरुलाई धैर्य र संयमता अपनाउन आग्रह गरेका छन् ।

 अपिलमा उनले भनेका छन्, “अपुष्ट सूचना, अफवाह र उक्साहटमा लाग्दा हाम्रो वर्षौँदेखिको सामाजिक सद्भाव बिग्रन सक्छ । हिंसा र उत्तेजनाबाट कुनै पनि समस्याको स्थायी समाधान निस्कन सक्दैन । “

सांसद चौधरीले सम्पूर्ण राजनीतिकर्मी, जनप्रतिनिधि, सुरक्षा निकाय, समुदायका अगुवा तथा धार्मिक गुरुहरूलाई सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कमजोर बनाउने कुनै पनि गतिविधिमा नलाग्न अनुरोध गरेका छन् । 

उनले संवाद, समन्वय र कानुनी शासनप्रति प्रतिबद्ध रहेर एकजुट भए मात्र सुनसरीमा दिगो शान्ति कायम गर्न सकिने भन्दै उनले सबै पक्षलाई आ–आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्न  अपिल गरेका छन् ।