विराटनगर । सुनसरीको देवानगञ्ज घटनाका विषयलाई लिएर ठाउँ ठाउँमा प्रदर्शन सुरु भएको छ । आइतबार राती दुई समुदायका बिचमा भएको झडपका क्रममा सशस्त्र प्रहरीले चलाएको गोलीले एक जनाको मृत्यु भएको घटनालाई लिएर सुनसरी र मोरङका विभिन्न स्थानमा प्रदर्शन सुरु भएको छ प्रदर्शनकारीले बजार पसल समेत बन्द गराएका छन् । 

सुनसरीको देवानगञ्ज क्षेत्रको स्थिति बिस्तारै सामान्य बन्दै गए पनि सुनसरीको इटहरी देखि कोशी ब्यारेज सम्मको पूर्व पश्चिम सडक खण्डमा प्रदर्शन उग्र बनेको छ ।

प्रदर्शन उग्र बनेसँगै  पूर्वपश्चिम राजमार्गअन्तर्गत पलकीदेखि कोशी ब्यारेजसम्मको खण्डमा सवारी साधन चल्न सकेका छैनन् । प्रदर्शनकारीहरूले ठाउँ–ठाउँमा टायर बालेर सडक अवरोध गरेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काका अनुसार देवानगञ्ज क्षेत्र साम्य हुँदै गए पनि राजमार्गमा प्रदर्शन चर्किएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै इटहरीबाट पश्चिम जाने सवारी साधनहरूलाई रोकिएको छ । सुनसरीको सदरमुकाम इनरुवामा प्रदर्शन भइरहेको छ  ।

प्रदर्शनमा सहभागीहरू घरेलु हतियारसमेत बोकेका छन् । बजार पसल बन्द भएको छ । यस्तै सुनसरीको दुहबीमा बिहान सद्भाव र्‍याली निकालिएको छ । सद्भाव र्‍याली पछि सडकमा टायर बालेर प्रदर्शन सुरु भएको छ । विराटनगरमा पनि एउटा समूह पसल बन्द गराउँदै हिँडेको छ । विराटनगरमा केही  व्यवसायीले  स्वतः स्फूृत बजार बन्द गराएका छन् ।