सुनसरी । देवानगञ्जको कप्तानगञ्जमा भएको हिंसा पछि विकसित घटनामा सद्भाव कायम गर्न इटहरीमा सद्भाव र्याली निकालिएको छ । 

नागरिक समाज इटहरीको अगुवाइमा निकालिएको सद्भाव र्‍यालीमा हिन्दु र मुस्लिम दुवै समुदायलाई संयमता अपनाउन आग्रह गर्दै बजार परिक्रमा गरिएको छ।

 र्‍यालीमा विभिन्न धर्म तथा सुमदायका अगुवा, नागरिक समाज, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

 कोणसभालाई सम्बोधन गर्दै पूर्व मन्त्री रामकुमार सुब्बाले सामाजिक तथा धार्मिक एकताको लागि सबै प्रतिबद्ध हुनुपर्ने बताए । इटहरी विगतका कुनैपनी आन्दोलन र द्वन्द्वमा विभाजित नभएको स्मरण गराउँदै पुनः सामाजिक एकतामा जोड दिन आग्रह गरे । 


र्‍याली सामाजिक एकता, सहिष्णुता र आपसी सम्मान कायम गर्ने उद्देश्यले आयोजना गरिएको नागरिक समाज इटहरीका अध्यक्ष आर के राईले बताए।

देवनगञ्जको घटना पछि देशका विभिन्न आन्दोलन र तोडफोड हुन थालेका छन् । सुनसरीका विभिन्न स्थानमा आगजनी र तोडफोड भएपछि कर्फ्यु आदेश जारी गरिएको छ ।

घटनालाई शान्त बनाउन आजबाट विभिन्न ठाउँमा सद्भाव र्याली निकालिएको छ । यस्तै विवादको समाधानका लागि सर्वदलिय बैठकहरु पनि बस्न थालेको छ ।  सुनसरीको हरिनगर गाउँपालिकामा सर्वदलीय बैठक बोलाइएको छ । बुधवार नै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समेत सर्वदलीय बैठक आह्वान गरेका छन् । 

सर्वदलिय बैठक पछि स्थिती सहज बन्दै जाने अपेक्षा गरिएको छ ।