सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाको सुरक्षा अवस्था क्रमशः सुधारोन्मुख रहेको निष्कर्ष निकाल्दै अधिकांश क्षेत्रमा जारी निषेध आदेश हटाएको छ। आइतबार प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार अब देवानगञ्ज, भोक्राहा नरसिंह, कोशी र हरिनगर गाउँपालिकामा मात्रै निषेध आदेश कायम रहने भएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम जारी गरिएको निषेध आदेश ती चार स्थानीय तहमा आइतबार बिहान ९ः३० बजेदेखि साँझ ७ बजेसम्म लागू हुने प्रशासनले जनाएको छ।
यसअघि सुनसरीका १० स्थानीय तहमा लागू गरिएको निषेध आदेश सुरक्षा अवस्थाको समीक्षा पश्चात् अन्य स्थानबाट हटाइएको हो।
प्रशासनका अनुसार जिल्लाको समग्र सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएको पाइएकाले निषेध आदेशको दायरा सीमित गरिएको हो।
प्रशासनले निषेध आदेश कायम रहेका क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन, जुलुस, प्रदर्शन तथा शान्ति सुरक्षामा असर पुग्ने गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
साथै आदेशको पूर्ण पालना गर्न र सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न पनि अनुरोध गरिएको छ।










