विराटनगर । कोशी प्रदेश सरकारको मुख्यमन्त्री फेर्ने विषयमा एमाले भित्र किचलो हुँदा नेकपा एमालेका सचिव शेरधन राई र नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता इन्द्र आङ्वो बिचमा छलफल भएको छ । केन्द्रमा नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेशको सत्ता साझेदारी गर्ने सहमति बनेपछि दुई दलका बिचमा औपचारिक छलफल भएको हो ।
छलफलमा वर्तमान परिस्थितिका बारेमा छलफल भएको थियो । एमालेले कोशीको मुख्यमन्त्री हिक्मत कार्कीको ठाउँमा तिलकुमार मेन्यांवोलाई बनाउने तयारी गरिरहँदा सो विषयमा पनि छलफल भएको छ । छलफलमा संसदीय दलका नेता आंवोले एमाले भित्रको आन्तरिक समस्यामा नेपाली कम्युनिस्ट पार्टीलाई नपार्न आग्रह गरेका थिए । उनले भने, यो एमालेको आन्तरिक समस्या हो । यो समस्या टुङ्गो लगाएर आएपछि सत्ता साझेदारी गर्ने विषयमा छलफल गरौँ ।
उनले नेपाल प्रेससँग भने, यो हाम्रो समस्या हुँदै होइन । अरूको समस्यामा हामी किन पर्नु रु उहाँहरूको ( एमालेको ) समस्या सुल्झेपछि सत्ता साझेदारी गर्ने विषयमा हाम्रा ऐजण्डाले प्रवेश पाउँछ ।
उनले बैठकमा तीन वटा कुरा गरेको बताए । नेता आङ्वोका अनुसार एमालेले को मुख्यमन्त्री बनाउने हो त्यसको टुङ्गो एमालेले लगाउनु पर्छ । उनले भने, दल भित्रको बिषय प्रदेश सभामा प्रवेश गर्यो भने निर्णय अकल्पनीय हुन सक्छ । उनले कस्तो अकल्पनिया भन्ने कुरा चाहिँ खुलाएनन् ।
एमाले सचिव समेत रहेका इन्चार्ज शेरधन राईको नेतृत्वमा मुख्यमन्त्री फेर्ने विषयमा हिजाृेबाट छलफल तीव्र छ । हिजो मात्रै राईले मुख्यमन्त्री कार्कीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।
तर मुख्यमन्त्री कार्कीले संस्थागत निर्णय नभई मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान लिएका छन् । मुख्यमन्त्री कार्कीले मार्ग प्रशस्त गर्न असहमति जनाएपछि एमालेले दलको नेता फेर्ने विकल्पका बारेमा समेत छलफल थालेको छ ।
एमालेका नेता तथा प्रदेश सभा सदस्य होम थापाले दलको नेता फेर्ने बिषय विकल्पको रूपमा हुनसक्ने बताए । उनले भने , अहिले यस तर्पm प्रक्रिया भने अगाडि बढेको छैन ।
कोशी प्रदेशमा एमालेका ४० जना प्रदेश सभा सदस्य छन् । एमाले कोशीको विधान अनुसार दलको नेता फेर्न दुई तिहाइ सदस्य आवश्यक पर्ने दाबी गरिएको छ । अन्य प्रदेशमा भने दलको नेता फेर्न सामान्य बहुमत काफी हुन्छ । नेकपा एमाले संसदीय दल कोशीको विधानमा भने दुई तिहाइ प्रदेश सभा सदस्य आवश्यक पर्ने दाबी गरिँदै आएको छ ।
मुख्यमन्त्री कार्की संविधानको धारा १६८९ ५० अन्तरगत मुख्यमन्त्री बनेका हुन् । उनी अहिले नेकपा एमाले संसदीय दल कोशिका नेता समेत हुन् । उनलाई दलको नेताबाट हटाए पनि उनले राजीनामा नदिएसम्म मुख्यमन्त्री पद नजाने उनी निकट सांसदहरू दाबी गर्छन्।
मुख्यमन्त्री हटाउन उनी विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्नु पर्छ । एमालेकै सांसदले अविश्वासको प्रस्ताव पेस गरे फेस गरेर जाने मुख्यमन्त्री कार्कीले बताए । उनले भने, आवश्यक परे अविश्वासको प्रस्ताव समेत फेस गर्नु तयार छु । कोशी प्रदेश सभामा बहुमत पुर्याउन ४७ प्रदेश सभा सदस्य आवश्यक पर्दछ ।










