सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

यससँगै घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको उनका आफन्त रोशन मेहताले जानकारी दिए।

रवीन्द्रलाई प्रारम्भिक उपचारपछि विराटनगरको विराट नर्सिङ होमबाट थप उपचारका लागि गत शुक्रबार एयर एम्बुलेन्समार्फत काठमाडौं लगिएको थियो।

बायाँ तिघ्रामा गोली लागेर नसामा गम्भीर क्षति पुगेपछि विराटनगरमै नसाको शल्यक्रिया गरिएको थियो। तर स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई शिक्षण अस्पताल रेफर गरिएको थियो।

उपचारका क्रममा संक्रमण र जटिलता बढेपछि चिकित्सकको सल्लाहमा उनको गोली लागेको बायाँ खुट्टा काट्नुपरेको थियो। त्यसपछि पनि स्वास्थ्यमा सुधार आउन नसकेपछि मंगलबार उनको मृत्यु भएको आफन्तले बताएका छन्।

यसैबीच, देवानगञ्ज–३ का १८ वर्षीय अमित यादव काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचाररत छन्।

उनलाई विराटनगरको नोबेल शिक्षण अस्पतालबाट रेफर गरी नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं लगिएको थियो।

घटनामा घाइते भएका अन्य छ जनाको भने विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उ

नीहरूको अवस्था क्रमशः सुधारोन्मुख रहेको चिकित्सकहरूले बताएका छन्।

गत साउन १० गते देवानगञ्जको कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा १० जना घाइते भएका थिए।

यसअघि देवानगञ्ज–४ का ओमप्रकाश मेहता र देवानगञ्ज–३ का जयप्रकाश मेहताको उपचारकै क्रममा मृत्यु भएको थियो।

रवीन्द्रको निधनसँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।