विराटनगर । एमाले भित्र कोशीको मुख्यमन्त्री फेर्ने विषयमा देखिएको विवाद तत्कालका लागि मिलेपछि काँग्रेस सरकारबाट बाहिरिने भएको छ । एमाले भित्र मुख्यमन्त्री कसलाई बनाउने भन्ने विवाद नमिलुन्जेल मौन बसेको सत्ता साझेदार नेपाली काँग्रेस विवाद मिलेसँगै सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मुख्यमन्त्री हिक्मत कार्की र प्रदेशका अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीसँग छुट्टा छुटै र संयुक्त भेटघाट पछि तत्कालका लागि कार्कीलाई मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति जुटेको थियो । सहमति जुटेसँगै काँग्रेसले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
नेपाली काँग्रेस संसदीय दलका नेता तथा प्रदेश सभापति उद्धव थापाले सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिने बताए । उनले एक दुई दिन भित्रमै सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिएर सरकारबाट बाहिरिने बताए ।
कोशीमा अहिले नेकपा एमाले र नेपाली काँग्रेसको संयुक्त सरकार रहेको छ । काँग्रेसका तर्फबाट एक जना राज्यमन्त्री सहित ५ जना मन्त्री सरकारमा रहेका छन् । उनीहरूले चाँडै राजीनामा दिने थापाले बताए ।
केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका बिचमा प्रदेशका सत्ता साझेदारी गर्ने तीन बुँदे सहमति भएको छ । सहमति पछि कोशी प्रदेश सरकारको नेतृत्व एमालेले नै गर्ने सहमति भएको थियो । एमालेले सरकारको नेतृत्व गर्ने सहमति जुटे पनि एमाले भित्र भने मुख्यमन्त्री फेर्न विवाद सुरु भएको थियो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा हिम्कतको ठाउँमा तिलकुमार मेन्यांवोलाई मुख्यमन्त्री बनाउने अभियान सुरु भएपछि कार्कीले मुख्यमन्त्री नछाड्ने अडान लिएका थिए । सोही अडानका कारण तीन बुँदे सहमति भएको लामो समय बित्दा पनि कोशीमा सरकार पुनर्गठन हुन सकेको थिएन ।











