सुनसरी । देवानगञ्ज हिंसामा ज्यान गुमाएका परिवारका लागि सरकारले केही दिनमै राहत, शहीद घोषणा प्रक्रिया, रोजगारी र उपचार खर्चको निर्णय गर्‍यो । तर सोही हिंसामा घर, पसल, सवारीसाधन र व्यवसाय गुमाएका सयौँ पीडितका लागि भने अहिलेसम्म राहत वा पुनर्स्थापनाबारे कुनै सरकारी निर्णय भएको छैन ।
प्रारम्भिक विवरणले एक सयभन्दा बढी निजी सम्पत्ति र दर्जनौँ सवारीसाधनमा क्षति देखाए पनि सरकारले आर्थिक पुनर्स्थापनाको स्पष्ट योजना सार्वजनिक नगर्दा पीडितहरू चिन्तित बनेका छन् ।
राज्यले मानवीय क्षतिलाई मात्र सम्बोधन गरेर आर्थिक रूपमा विस्थापित नागरिकलाई सम्बोधन नगरेको भन्दै तत्काल राहतको प्याकेज ल्याउन उनीहरूले माग गरेका छन् ।
देवानगञ्ज घटनाका क्रममा सुनसरीका विभिन्न स्थानीय तहमा तोडफोड र आगजनीबाट करोडौँ रुपैयाँको क्षति बेहोरेका व्यवसायी र सर्वसाधारण अझै सरकारी राहतको पर्खाइमा छन् ।
गत साउन १० गते राती देवानगञ्जमा सुरु भएको हिंसा त्यहीँ सीमित रहेन । इनरुवा, हरिनगर, कोसी गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकासम्म फैलिएको घटनामा दर्जनौँ घर, पसल र सवारीसाधनमा तोडफोड तथा आगजनी भएको थियो ।
कतै पसलका सटर फुटाइए, कतै सामान लुटिए भने कतिपय व्यावसायिक संरचना पूर्ण रूपमा ध्वस्त बनाइएका थिए ।
घटनापछि सामान्य जनजीवन फर्किन थाले पनि आर्थिक रूपमा विस्थापित भएका पीडितहरू भने अझै पुनःस्थापनाको प्रतीक्षामा रहेको स्थानीय महेश ठाकुरले बताए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार घटनामा ६९ वटा सवारीसाधन क्षतिग्रस्त भएका छन् ।
तीमध्ये ५२ वटा दुई पाङ्ग्रे सवारीसाधनमा क्षति पुगेको छ, जसमा ४४ वटा पूर्ण रूपमा नष्ट भएका छन् भने ८ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै ८ वटा तीन पाङ्ग्रे सवारीसाधन मध्ये ५ वटा पूर्ण रूपमा र ३ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
४ वटा चार पाङ्ग्रे सवारीसाधनमध्ये १ वटा पूर्ण रूपमा नष्ट भएको तथा ३ वटा आंशिक रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सर्वसाधारणका ११२ वटा भौतिक संरचनामा पनि क्षति पुगेको छ । २३ वटा पक्की घर प्रभावित भएकामध्ये १३ वटा पूर्ण रूपमा, १० वटा आंशिक रूपमा तथा १ वटामा सामान्य क्षति पुगेको छ ।
त्यस्तै ३४ वटा कच्ची घरमा क्षति पुगेको छ, जसमध्ये २५ वटा पूर्ण रूपमा, ८ वटा आंशिक रूपमा र १ वटा सामान्य रूपमा क्षतिग्रस्त भएका छन् ।
५० वटा घर तथा टहरामध्ये ३७ वटा पूर्ण रूपमा र १३ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
साथै २ वटा मन्दिरमा आंशिक क्षति पुगेको छ भने ५ वटा अन्य संरचनामध्ये ३ वटा पूर्ण रूपमा, १ वटा आंशिक रूपमा र १ वटा सामान्य रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।
डिएसपी खड्काले क्षति पुगेका संरचना र सवारीसाधनको विवरण सङ्कलन सम्पन्न भए पनि कुल आर्थिक क्षतिको यकिन मूल्याङ्कन भने अझै भइरहेको बताए । “कति रुपैयाँ बराबरको क्षति भयो भन्ने विषयमा विस्तृत अध्ययन र मूल्याङ्कन भइरहेको छ,“ उनले भने ।
भोक्राहा नरसिंह गाउँपालिका–स्थित फूलचोकमा विगत १० वर्षदेखि हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका इरफान अलीले आफ्नो पसलमा भएको लुटपाट र आगजनीबाट झन्डै एक करोड रुपैयाँ बराबरको क्षति भएको बताए ।
उनका अनुसार लौकही र चिरौलीचोकमा भएको झडपपछि प्रहरीको हस्तक्षेपबाट तितरबितर भएको भीड फूल चोक पुगेको थियो । “पसल बन्द थियो । सटर फोडेर सामान लुटियो, त्यसपछि आगजनी गरियो,“ उनले भने, “प्रहरी र बीमा कम्पनीका अधिकारी आएर मुचुल्का उठाएर गए । तर क्षतिपूर्ति वा राहतबारे अहिलेसम्म कतैबाट कुनै जानकारी आएको छैन ।“ अनौपचारिक सेवा केन्द्र (इन्सेक) कोसी प्रदेश संयोजक मनोहर पोखरेलले घटनामा धेरै व्यक्तिका घर तथा व्यवसायमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क आएको बताए ।
उनका अनुसार पीडितहरूको मुख्य माग निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुका साथै आर्थिक क्षतिको उचित सम्बोधन गर्नु हो ।
पीडित व्यवसायीहरूका अनुसार मृतक परिवारलाई राहत उपलब्ध गराउनु राज्यको दायित्व भएजस्तै हिंसामा जीवनभरको कमाइ गुमाएका व्यवसायी र सर्वसाधारणको पुनर्स्थापना पनि राज्यकै जिम्मेवारी रहेको देवानगञ्ज–३ स्थित समृद्धि आल्मुनियम एन्ड स्टिल ग्लास हाउसका सञ्चालक नवल शर्माले बताए । धेरै व्यवसायीले बैङ्क तथा सहकारीबाट ऋण लिएर व्यवसाय सुरु गरेको उनले बताए ।
“अहिले पसल नै सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छौँ । सामान छैन, पुँजी छैन । फेरि व्यवसाय उठाउने आधार नै हराएको छ,“ उनले भने । स्थानीयका अनुसार प्रशासनले क्षतिको विवरण सङ्कलन गरिरहेको भए पनि राहत, पुनर्स्थापना वा क्षतिपूर्तिसम्बन्धी कुनै स्पष्ट निर्णय सार्वजनिक भएको छैन । सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जिल्लाभर भएको क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिए ।
“समग्र क्षतिको विवरण सङ्कलन कार्य जारी छ । पीडितलाई के–कसरी राहत उपलब्ध गराउने भन्ने विषयमा माथिल्लो निकायबाट अहिलेसम्म कुनै निर्णय वा निर्देशन प्राप्त भएको छैन,“ उनले भने ।
हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले पनि गाउँपालिकाले आफ्नो क्षेत्रभित्र भएका सबै क्षतिको विवरण सङ्कलन गरिरहेको बताए ।
उनले क्षति बेहोरेका स्थानीयलाई सम्बन्धित वडा तथा गाउँपालिकामा जानकारी गराउन आग्रह गरिएको जानकारी दिए ।
हिंसा रोकिएको र जनजीवन सामान्य बन्दै गए पनि त्यसको आर्थिक असर भने अझै समाप्त हुन सकेको छैन ।
देवानगञ्जका व्यवसायी मिथिलेश मेहताका अनुसार पसल गुमाएकाहरू, घर भत्किएकाहरू र जीविकाको आधार नै नष्ट भएकाहरू अझै आफ्नै बलमा पुनः उभिने सङ्घर्षमा छन् ।
“मानवीय क्षतिमा सरकारले तत्काल निर्णय गर्‍यो, त्यो सकारात्मक हो,“ उनले भने, “तर आर्थिक रूपमा तहसनहस भएका नागरिकको पुनर्स्थापना पनि राज्यको उत्तिकै जिम्मेवारी हो ।
सरकारले त्यसलाई प्राथमिकतामा राख्छ कि राख्दैन, अहिले धेरै पीडितको आशा त्यसमै टिकेको छ ।“