सुनसरी । बराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र–चतरा सडकबाट प्रहरीले चार क्विन्टल १८ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ।

बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको एउटा कार र मोटरसाइकलमा खानतलासी गर्दा २२ वटा पोकामा राखिएको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई, कारमा सवार ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–५ की २२ वर्षीया जीवनी राई, मोटरसाइकल चालक मोरङ कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलमा सवार सोही स्थानका ३८ वर्षीय शंकर चौधरी छन्।

बरामद गाँजा र पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।