सुनसरी । सुनसरीको इटहरी स्थित तरहरामा सम्पन्न प्रथम तरहरा गोल्डकपको उपाधी पूर्वाञ्चल युनाइटेड क्लब मोरङले जितेको छ ।
इटहरी २० स्थित बहुबासी स्कुलको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा सतिसाले स्पोर्टिङ क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै पूर्वाञ्चल युनाइटेडले उपाधी जितेको हो ।
पूर्वाञ्चलको संघर्षपूर्ण जीतमा दोर्जे तामाङले निर्णायक गोल गरे ।
खेलको २९ औं मिनेटमा उनले गरेको गोलनै पूर्वाञ्चललाई उपाधी जिताउन पर्याप्त बन्यो ।
फाइनल खेलको प्लेयरअफद म्याच सतिसालेका नितेश लिम्बु घोषित हुदै नगद १ हजार पाए ।
पूर्वाञ्चल युनाइटेडका रोशन कार्की उत्कृष्ट गोलकिपर, दोर्जे तामाङ उत्कृष्ट मिडफिल्डर, बिजय राई उत्कृष्ट डिफेन्स र बिवश गुरुङ उत्कृष्ट प्रशिक्षक घोषित भए ।
युनाइटेड क्लब तरहराका सुमन चाम्लिङ राई उदयमान खेलेडी घोषित भए । शुभबिहानी क्लब रामधुनीका सन्दिप लिम्बुले सर्वाधिक गोलकर्ताको उपाधी जिते ।
उनीहरु सबैले जनही १ हजार ५ सय पुरस्कार पाए । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पूर्वाञ्चल युनाइटेडका सुजन चौधरी घोषित भए ।
बिजेता पूर्वाञ्चलले नगद ५० हजार र उपबिजेता शतिसाले स्पोर्टिङले ३० हजार पुरस्कार पाए ।
बिजेता तथा उपबिजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी कोसी प्रदेस फुटबल संघका अध्यक्ष किशोर राई, सुनसरी जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष केशव कार्की लगायतले पुरस्कार बितरण गरे ।
युनाइटेड क्लब अफ तरहराले आयोजना गरेको प्रतियोगितामा कोसी प्रदेशका बिभिन्न ८ टिमले प्रतिष्पर्धा गरेका थिए ।
युवालाई खेलकुद मार्फत सकारात्मक गतिविधि तर्फ आकर्षित गर्ने तथा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले आयोजित प्रतियोगिता साउन १७ गतेदेखि सञ्चालन भएको थियो ।











