सुनसरी । कप्तानगञ्ज घटनालाई लिएर सुनसरीमा धार्मिक सम्प्रदायका अगुवाहरूले जिल्लामा आपसी सद्भाव र भाइचारा कायम राख्न सामूहिक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको अगुवाइमा आयोजित भेलामा हिन्दु, मुस्लिम, इसाई र बौद्ध धर्मका गुरु तथा अगुवाहरू सहभागी थिए ।
घटनापछि विभिन्न समुदायबीचको सम्बन्धमा पर्न सक्ने असर र त्यसलाई न्यूनीकरण गर्दै सामाजिक सद्भाव कायम राख्ने उपायबारे भेलामा छलफल गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार भेलामा सहभागी धर्मगुरूहरूमार्फत गाउँ, समाज र समुदायस्तरमा आपसी सद्भाव, भाइचारा तथा सहिष्णुता कायम राख्न सबै पक्षले खेल्नुपर्ने भूमिकाबारे छलफल भएको थियो ।
कप्तानगञ्ज घटनाले समुदायबीच अविश्वास र तनाव बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै धार्मिक तथा सामाजिक अगुवाहरूले आफ्नो समुदायमा शान्ति, संयम र सहिष्णुताको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिइएको थियो ।
घटनालाई लिएर फैलिन सक्ने अफवाह तथा उत्तेजक गतिविधिले थप समस्या निम्त्याउन सक्ने भएकाले जिम्मेवार ढंगले सामाजिक वातावरण सामान्य बनाउनुपर्नेमा पनि छलफल केन्द्रित थियो ।
भेलामा सहभागी विभिन्न धर्मका अगुवाहरूले जिल्लाको दीगो शान्ति र सामाजिक सद्भावका लागि आ–आफ्नो क्षेत्रबाट ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनीहरूले धार्मिक तथा सामुदायिक नेतृत्वले समाजमा तनाव बढाउनेभन्दा पनि संवाद, सहअस्तित्व र भाइचाराको वातावरण निर्माणमा भूमिका खेल्नुपर्ने बताएका थिए ।
कप्तानगञ्ज घटनापछि सुनसरीका विभिन्न क्षेत्रमा उत्पन्न तनाव र त्यसको प्रभावलाई मध्यनजर गर्दै प्रशासनले शान्ति तथा सद्भाव कायम राख्न राजनीतिक दल, स्थानीय तह, नागरिक समाज तथा धार्मिक अगुवाहरूसँग समन्वय गर्दै आएको छ ।











