विराटनगर । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका बिचमा केन्द्रमा बनेको तीन बुँदे सहमति कार्यान्वयनमा कोशी प्रदेशमा समस्या भएको छ । एमाले भित्र मुख्यमन्त्री फेर्ने विषयमा देखिएको किचलोका कारण तीन बुँदे सहमति कार्यान्वयन गरी नेपाली कम्युनिस्ट पार्टीलाई सरकारमा लैजान समस्या भएको हो ।
केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका बिचमा साउन ९ गते तीन बुँदे सहमति भएको थियो । सहमति अनुसार प्रदेशको सत्ता साझेदारी एमाले र नेकपाले गर्ने तयारी भएको छ । तर एमाले भित्रको किचलोका कारण अहिले कोशी प्रदेश सरकारमा रहेको नेपाली काँग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छैनन् । काँग्रेसका मन्त्रीहरूले राजीनामा नदिएका कारण कोशीमा नेकपाबाट मन्त्रीहरू नियुक्त हुन सकेको छैन ।
शुक्रवार भएको बैठकमा सोमबार सम्ममा नेकपाबाट मन्त्रीहरू नियुक्त हुने सहमति भएको थियो । शुक्रवार भएको बैठकमा सोमबार एमाले र नेकपाका बिचमा सोमबार बैठक बसी मन्त्रालय र मन्त्री बाँडफाँडको टुङ्गो लगाउने सहमति भएको थियो । दुई पार्टीका बिचमा मन्त्रालय र मन्त्रीबाँडफाँडको टुङ्गो लगाउने भनिए पनि काँग्रेसबाट नियुक्त मन्त्रीहरूले राजीनामा नदिएका कारण समस्या भएको हो ।
पहिला त काँग्रेसबाट नियुक्त भएका मन्त्रीहरूले राजीनामा दिनु पर्यो ।
एक नेताले भने, एमाले भित्रको किचलोका कारण काँग्रेसका मन्त्रीहरूले राजीनामा दिएनन् । मुख्यमन्त्रीले हट भन्न सक्नु भएन । उनका अनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नै राजीनामा गराउने विषयमा पहल नगरेकाले पनि तीन बुँदे सहमति कार्यान्वयनमा समस्या भएको हो ।
कोशी प्रदेश सरकारमा काँग्रेसका तर्फबाट एक जना राज्यमन्त्री सहित ५ जना मन्त्रीहरू सहभागी छन् । काँग्रेसले भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग कृषि तथा सहकारी र पर्यटन बन तथा वातावरण मन्त्रालयको नेतृत्व गरेको छ । नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले बिहीबार नै केही दिन भित्रमा मन्त्रीहरूले राजीनामा दिने बताएका थिए । तर सोमबार सम्म मन्त्रीहरूले राजीनामा दिएका छैनन् ।
दुई दलको बैठक बस्दै
नयाँ सत्ता समीकरणबारे छलफल गर्न एमाले र नेकपाको प्रदेश नेतृत्व तथा दुवै दलका संसदीय दलका नेताहरू सम्मिलित बैठक आज बस्ने भएको छ । बैठकले कोशी प्रदेशमा केन्द्रमा बनेको नयाँ राजनीतिक समीकरणअनुसार सरकार पुनर्गठन गर्ने विषयमा आवश्यक समझदारी गर्ने तयारी भएको छ । बैठकमा मन्त्रालय र मन्त्रीका विषयमा छलफल हुने नेकपा संसदीय दलका नेता इन्द्र आंवोले बताए ।
सरकार पुनर्गठनको अन्तिम तयारी भइरहेका बेला एमाले र नेकपाबिच मन्त्रालयको सङ्ख्यादेखि महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीसम्ममा फरक–फरक दाबी प्रस्तुत भएका छन्। यही विषयमा सहमति जुटाउन दुवै दलबिच आज सोमबार पुनः औपचारिक बैठक हुँदै छ।
एमाले सचिव तथा प्रदेश इन्चार्ज शेरधन राईले एमाले र नेकपाका बिचमा छलफल हुने र सहमतिमा पुग्न नसकेका विषयमा टुङ्गो लगाएर जाने बताए । उनले भने, पहिला हाम्रा बिचमा सहमति जुटाँउ त्यसपछि काँग्रेसका विषयमा कुरा गरौला । उनले सहमति भएपछि काँग्रेसबाट नियुक्त भएका मन्त्रीहरूले राजीनामा दिने विश्वास लिए । यस अघि तीन बुँदे सहमति अनुसार एमालेले कोशी प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भए पनि मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा पार्टी भित्र विवाद भएको थियो । अहिलेकै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई निरन्तरता दिने की तिलकुमार मेन्यांवोलाई मुख्यमन्त्री बनाउने भन्ने बिषयम भएको विवादका कारण सरकार पुनर्गठन हुन सकेको छैन ।
विवाद पछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको बैठकमा तत्कालका लागि कार्कीलाई नै निरन्तरता दिने सहमति भएको थियो । सोही सहमति अनुसार कार्की कै नेतृत्वमा सरकार पुनर्गठनका लागि तयारी भइरहेको छ ।











