सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोशी प्रदेशमा प्यालियेटिभ तथा हस्पिस केयर (प्रशामक सेवा) विस्तार गर्ने उद्देश्यले पाँचदिने ‘इन्टिग्रेटेड प्यालियेटिभ एन्ड हस्पिस केयर एसेन्सियल्स’ कार्यशाला सुरु भएको छ ।
दीर्घरोगीका लागि आवश्यक प्रशामक सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यशाला सोमबारदेखि सुरु भएको हो । कार्यशाला नेपाल हस्पिस केयर सेन्टरको आयोजनामा तथा बीपी प्रतिष्ठानको स्टुडेन्ट्स अन्कोलोजी विङको संयोजनमा भइरहेको छ ।
कार्यशालामा टु वल्ड्र्स क्यान्सर कोल्याबोरेसन (क्यानडा), रोटरी इन्टरनेसनल, रोटरी क्लब अफ काठमाडौँ काष्ठमण्डप, बीपी प्रतिष्ठान, कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र धरान उपमहानगरपालिकाको सहयोग रहेको छ ।
प्रतिष्ठानकी उपकुलपति प्रा. डा. स्मृति कार्कीले कार्यशालाको औपचारिक उद्घाटन गरेकी थिइन् । मेडिकल अन्कोलोजी युनिटकी इन्चार्ज तथा मेडिकल अन्कोलोजिस्ट डा. सोनिया दुलालले कार्यशालाको उद्देश्य र रूपरेखा प्रस्तुत गरेकी थिइन् । डा. विष्णु श्रेष्ठले प्यालियेटिभ तथा हस्पिस केयरको अवधारणाबारे जानकारी दिए ।

कार्यशालामा उपकुलपति प्रा. डा. कार्कीले ‘बीपीकेआईएचएसको पूर्वी नेपालमा प्यालियेटिभ केयर सुदृढीकरण तथा विस्तारमा भूमिका’ विषयमा प्रस्तुति दिइन ।
‘आवश्यक प्यालियेटिभ केयर प्याकेज र चार स्तम्भमा आधारित प्यालियेटिभ केयर इकोसिस्टम’ विषयमा कार्यक्रममा छलफल भएको थियो ।
कार्यक्रममा पूर्वरेक्टर प्रा.डा.सञ्जीवकुमार शर्माले स्वास्थ्य प्रणालीमा प्यालियेटिभ केयर एकीकरणका रणनीतिबारे प्रस्तुति दिएका थिए । डा. सोनिया दुलाल र प्रतिष्ठानकी प्यालियेटिभ केयर नर्स रोजिता शाक्यले धरानमा बीपी प्रतिष्ठानले सञ्चालन गरेको घरमै आधारित हस्पिस केयर सेवाको प्रभावबारे प्रस्तुति दिए ।
यस्तै कार्यक्रममा ‘प्यालियेटिभ केयर नीतिगत ढाँचा, चुनौती, सोच तथा प्रदेश र स्थानीय सरकारको प्रतिबद्धता’ विषयमा प्यानल छलफल भएको छ ।
पाँच दिनसम्म सञ्चालन हुने कार्यशालाले कोशी प्रदेशमा क्यान्सर तथा अन्य दीर्घरोगबाट प्रभावित बिरामीका लागि अस्पतालमा मात्र नभई समुदाय र घरमै समेत आवश्यक प्रशामक सेवा विस्तार गर्न स्वास्थ्यकर्मीको क्षमता विकासमा केन्द्रित हुने आयोजकले जनाएको छ ।











