विराटनगर । कोशी प्रदेश सरकारमा रहेका काँग्रेसका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । साउन ९ गते नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीहरूका बिचमा तीन बुँदे सहमति भएपछि कोशी प्रदेश सरकारबाट काँग्रेस बाहिरिने तयारी गरेको हो । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीहरूका बिचमा तीन बुँदे सहमति भए पनि काँग्रेस सरकारबाट बाहिरिएको थिएन ।सरकारबाट काँग्रेस नबाहिरिँदा नेकपा  र एमाले बिचको सहमति कार्यान्वयनमा जान सकेको थिएन । 
केन्द्रमा भएको सहमति अनुसार कोशीमा सरकार पुनर्गठनका लागि दुई पार्टीका बिचमा बारम्बार बैठक बसेपछि काँग्रेसले मार्ग प्रशस्त गर्न लागेको हो । आज बेलुकी यो भोली बिहान सम्ममा काँग्रेसबाट मन्त्री भएकाहरूले राजीनामा दिने तयारी भएको श्रोतले जनाएको छ। 
कोशीमा अहिले नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकार रहेको छ । कोशीमा काँग्रेसका तर्फबाट एक जना राज्यमन्त्री सहित ४ जना मन्त्रीहरू रहेका छन् । उनीहरूको राजीनामा आएपछि नयाँ सरकार गठनको बाटो खुल्ने मन्त्री परिषद् तथा मुख्यमन्त्री कार्यालयले जनाएको छ । 
एमाले र नेकपाका बिचमा तीन बुँदे सहमति भएपछि सरकार गठनका विषयमा  दुई पार्टीका बिचमा शुक्रवारदेखि निरन्तर बैठक जारी छ ।  बैठकमा नेकपाले काँग्रेसलाई दिए जति नै मन्त्रालय आफूहरूले पाउनु पर्ने दाबी गर्दै आएको छ । एमालेले भने प्रदेश सभा सदस्यको आधारमा तीन वटा मात्रै मन्त्रालय दिन खोजेपछि मन्त्रालय बाँडफाँडमा कुरा मिल्न सकेको छैन । कोशीमा एमालेका ४० जना प्रदेश सभा सदस्य छन् । नेकपाको भने १७ जना प्रदेश सभा सदस्य रहेका छन् । प्रदेश सभा सदस्यको सङ्ख्याको आधारमा मन्त्रालय बाँडफाँड हुनु पर्ने अडान एमालेले बैठकमा राख्दै आएको छ । 
मन्त्रालयको सङ्ख्या र कुन कुन मन्त्रालय लिने विषयमा कुरा नमिलेपछि छलफलबाट टुङ्गो लगाउने जिम्मा मुख्यमन्त्री हिक्मत कुमार कार्की र नेकपा संसदीय दलका नेता इन्द्र आंवोलाई दिइएको छ । दुई नेताका बिचमा मोटा मोटी कुरा मिलेपछि काँग्रेसले मार्ग प्रशस्त गर्न लागेको हो । 
कोशीमा अहिले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सहित ९ वटा मन्त्रालय रहेका छन् । मुख्यमन्त्री कार्की मन्त्रालयको सङ्ख्या बढाउने विषयमा सहमत भएका छैनन् । एमालेकै केही नेताहरूले मन्त्रालयको सङ्ख्या बढाउनु पर्ने बताएपछि कार्कीले मन्त्रालयको सङ्ख्या बढाउन मानेका छैनन्  । 
मुख्यमन्त्री कार्कीले मन्त्रालय बाँडफाँडका विषयमा लगभग कुरा मिलेको बताए । उनले भने हामी साना तिना विषयमा नअल्झिएर केन्द्रमा भएको सहमति कार्यान्वयन गर्न लागेका छौ ।  नेकपाले मान्दै नमाने ४ वटा मन्त्रालय दिएर भए पनि एमाले सरकार पुनर्गठनको तयारीमा छ । बैठकमा सहभागी एमालेका एक नेताले भने, अहिले तीन वटा मात्रै मन्त्रालय नेकपालाई दिने भन्ने हो । यसमा नमाने ४ वटै मन्त्रालय दिएर भए पनि तीन बुँदे सहमति कार्यान्वयनमा जान्छ । 
मन्त्रालय हेरफेर हुने 
कोशीमा रहेका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बाहेक ८ मन्त्रालय मध्ये एमालेले आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानुन, खानेपानी तथा सिँचाइ र सामाजिक विकास मन्त्रालय एमालेको भागमा रहेको छ । यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पर्यटन बन तथा वातावरण मन्त्रालयको नेतृत्व काँग्रेसले गरेको छ ।
पुनर्गठन हुँदा मन्त्रालय हेरफेर गर्ने तयारी भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय मध्ये एउटा एउटा दुई पार्टीले राख्ने र अरू बाँडफाँड हुने छ । मन्त्रालय हेरफेर भए पनि एमालेका मन्त्रीहरू भने हेरफेर नहुने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए । उनले अहिले एमालेका मन्त्रीहरू भने नहट्ने बताए । उनले भने,अहिले मन्त्रीहरू हट्नु हुन्न । उहाँहरूकै निरन्तरता हुन्छ । 
एमाले र नेकपा बिचमा तीन बुँदे सहमति हुँदा कोशी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको थियो । एमालेले नै सरकारको नेतृत्व गर्ने सहमति भए पनि मुख्यमन्त्री फेर्ने कसरत सुरु भएको थियो । पार्टी अध्यक्ष केपी ओलीको निर्देशन भन्दै हिक्मत कार्कीको ठाउँमा तिलकुमार मेन्यांवोलाई मुख्यमन्त्री बनाउन सचिव तथा प्रदेश इन्चार्ज शेरधन राईले दौड धूप गरेका थिए । तर कार्कीले राजीनामा नदिने अडान लिएपछि भएको छलफलमा कार्कीलाई निरन्तरता दिने सहमति भएको छ। 
कार्कीलाई मुख्यमन्त्रीबाट हटाउन प्रदेश सभा सदस्यहरूको हस्ताक्षर अभियान चलेको थियो । हस्ताक्षर अभियानमा कार्कीको ठाउँमा तिलकुमारलाई मुख्यमन्त्री बनाउने अभियानमा केही मन्त्रीहरू समेत लागेका थिए । सरकार पुनर्गठन हुँदा कार्कीले उनीहरूलाई हटाउने अनुमान गरिएको थियो ।