सुनसरी — धरानस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहानैदेखि ३० किशोर खेलाडी दौडिरहेका हुन्छन् ।

कोही बल नियन्त्रणको अभ्यासमा छन्, कोही गोलपोस्टतिर प्रहार गरिरहेका छन् ।

प्रशिक्षकको सिटीसँगै उनीहरूको दौड, पास र सुटिङ नियमित छ । मैदानमा अभ्यास रोकिएको छैन ।

तर मैदानबाहिरको अनिश्चितताले भने उनीहरूको भविष्यलाई छोइसकेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले निलम्बन गरेपछि त्यसको असर राष्ट्रिय टोली र अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र सीमित नहुने देखिएको छ ।

नेपाली फुटबलको तल्लो तहबाट नयाँ प्रतिभा उत्पादन गर्ने एन्फाका प्राविधिक केन्द्र र एकेडेमीहरू पनि यसको प्रत्यक्ष प्रभावमा पर्न थालेका छन् ।

पूर्वी नेपालको फुटबल प्रतिभा उत्पादन गर्ने प्रमुख केन्द्रका रूपमा रहेको धरानको टेक्निकल सेन्टरमा तत्काल प्रशिक्षण र आवासीय कार्यक्रम रोकिएको छैन ।

स्थानीय तह र कोशी प्रदेश सरकारले समेत केही बजेट उपलब्ध गराएका कारण तत्काल सञ्चालनमा ठूलो समस्या नदेखिएको व्यवस्थापन समितिका अध्यक्ष किशोर राई बताउँछन् । तर एन्फामाथिको प्रतिबन्ध लम्बिँदै गए यसको आर्थिक तथा प्राविधिक प्रभाव केन्द्रसम्म आइपुग्ने उनको भनाइ छ ।

‘अहिले नै प्रशिक्षण बन्द गर्नुपर्ने अवस्था छैन,’ राईले भने, ‘तर निलम्बन लम्बिँदै गयो भने प्राविधिक केन्द्रको नियमित सञ्चालनदेखि विकास कार्यक्रमसम्म असर पर्न सक्छ ।’

राईका अनुसार अन्य एकेडेमीको तुलनामा धरानको अवस्था केही सहज भए पनि एन्फाको नियमित सहयोगमा निर्भर कार्यक्रम लामो समय रोकिए वैकल्पिक स्रोतबाट मात्र संरचना धान्न कठिन हुन्छ । उनी एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्षसमेत हुन् ।

वार्षिक ५४ लाखको खाना, एन्फाबाट २६ लाख ४० हजार

धरान टेक्निकल सेन्टरमा जिल्ला, प्रदेश हुँदै छनोट भएर आएका ३० किशोर २०८१ जेठ १५ देखि आवासीय रूपमा प्रशिक्षण लिइरहेका छन् । बिहान र बेलुका फुटबल प्रशिक्षण गर्ने उनीहरू दिउँसो विद्यालय तथा कलेज जाने गर्छन् ।

एकेडेमीका इन्चार्ज गोपाल कार्कीका अनुसार खेलाडीको प्रशिक्षणसँगै उनीहरूको शिक्षा, खानपान, पोसाक, खेल सामग्री र आवासीय व्यवस्थापनको जिम्मेवारी पनि केन्द्रले नै बेहोर्दै आएको छ ।

‘खेलाडी र कर्मचारीको व्यवस्थापनमा मासिक करिब १ लाख २५ हजार रुपैयाँ खर्च हुन्छ,’ कार्कीले भने ।

प्रशिक्षकसहित नौ जना कर्मचारी रहेको केन्द्रमा खेलाडीको खानामा मात्रै वार्षिक करिब ५४ लाख रुपैयाँ खर्च हुने उनले बताए । खेलाडीलाई साताको हरेक दिन फरक–फरक मेनुमा पोषणयुक्त खाना र नास्ता उपलब्ध गराउने गरिएको छ ।

‘उनीहरूको शिक्षण शुल्कदेखि पोसाक र खेल सामग्रीसम्म व्यवस्थापन गर्नुपर्छ,’ कार्कीले भने, ‘अहिले चना, अण्डालगायत पोषणयुक्त खाना खुवाइरहेका छौं । तर एन्फा निलम्बनको अवस्था लम्बिँदै गयो भने चना, अण्डाको साटो चिया–बिस्कुटमा सीमित हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न ।’

कार्कीका अनुसार टेक्निकल सेन्टर सञ्चालनका लागि एन्फाले वार्षिक २६ लाख ४० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । उक्त रकम पर्याप्त नभएपछि थप १० लाख रुपैयाँ माग गरिएको थियो । तर एन्फा निलम्बनमा परेपछि थप रकमको प्रक्रिया रोकिएको उनले बताए ।

यसले देखाउँछ—एकेडेमी सञ्चालनका लागि एन्फाबाट आउने रकम आफैंमा पर्याप्त छैन । स्थानीय र प्रदेश सरकारको सहयोगले अहिलेको व्यवस्थापन धानिए पनि दीर्घकालीन रूपमा स्रोतको सुनिश्चितता नभए समस्या गहिरिन सक्छ ।

प्रतिबन्धको असर मैदानमा होइन, अवसरमा देखिने डर

टेक्निकल सेन्टरका प्रशिक्षक हेम गुरुङका अनुसार यहाँ प्रशिक्षण गरिरहेका ३० किशोरको एउटै लक्ष्य छ—एक दिन राष्ट्रिय टोलीको जर्सी लगाउने ।

‘यी खेलाडीहरू राष्ट्रिय टोलीको जर्सी लगाउने सपना लिएर हरेक दिन पसिना बगाइरहेका छन्,’ गुरुङले भने, ‘तर एन्फामाथिको प्रतिबन्धले नेपाली फुटबलको विकास प्रणाली नै प्रभावित हुने चिन्ता बढेको छ ।’

फिफाको विकास कार्यक्रमअन्तर्गत सञ्चालन भएका प्राविधिक केन्द्रमा आर्थिक सहयोगसँगै प्राविधिक कार्यक्रम र दीर्घकालीन योजना पनि जोडिएका हुन्छन् ।

त्यसैले निलम्बन लम्बिँदा यसको असर प्रशिक्षणमा मात्र नभई नयाँ प्रतिभा छनोट, प्रशिक्षकको क्षमता विकास र खेलाडीको अन्तर्राष्ट्रिय एक्सपोजरसम्म पुग्न सक्ने प्रशिक्षकहरूको भनाइ छ ।

सहायक प्रशिक्षक आशिष कार्कीका अनुसार फिफाको ‘गोल परियोजना’ अन्तर्गत स्थापना भएको धरान टेक्निकल सेन्टर पूर्वी नेपालमा फुटबल प्रतिभा उत्पादन गर्ने महत्वपूर्ण आधार हो ।

‘तत्काल प्रशिक्षण बन्द हुने अवस्था छैन,’ उनले भने, ‘तर प्रतिबन्ध लम्बियो भने नयाँ खेलाडी छनोट, अन्तर्राष्ट्रिय एक्सपोजर, प्रशिक्षक तालिम र विकास कार्यक्रम प्रभावित हुने जोखिम छ ।’

उनका अनुसार यसको मानसिक असर खेलाडीमा समेत पर्न थालेको छ । वर्षौंको प्रशिक्षणपछि राष्ट्रिय टोलीसम्म पुग्ने लक्ष्य राखेका किशोरलाई आफ्नो भविष्यबारे अनिश्चितता हुन थालेको उनले बताए ।

‘हाम्रो सपना के हुन्छ ?’

टेक्निकल सेन्टरमा प्रशिक्षणरत करुण थापाका लागि फिफा प्रतिबन्ध अन्तर्राष्ट्रिय फुटबलको विषय मात्र रहेन । यसको असर आफ्नो भविष्यसँग जोडिएको उनी बताउँछन् ।

‘हामी राष्ट्रिय खेलाडी बन्ने सपना लिएर यहाँ आएका हौं,’ थापाले भने, ‘प्रतिबन्ध लामो समय रह्यो भने हाम्रो सपना पूरा हुन्छ कि हुँदैन भन्ने चिन्ता लाग्न थालेको छ ।’

अर्का खेलाडी अनिष गुप्तालाई पनि समस्या तत्काल समाधान नभए प्रतिभा उत्पादनको श्रृंखला कमजोर हुने डर छ ।

‘धरानजस्ता प्राविधिक केन्द्रबाट जिल्ला, प्रदेश हुँदै राष्ट्रिय टोलीसम्म पुग्ने बाटो नै कमजोर भयो भने हामीजस्ता खेलाडीको अवसर घट्छ,’ उनले भने ।

राष्ट्रिय टोलीभन्दा ठूलो प्रश्न भावी पुस्ताको

नेपाली फुटबलमा राष्ट्रिय टोलीको प्रदर्शनलाई मात्र विकासको सूचक मान्ने हो भने धरान टेक्निकल सेन्टरमा देखिएको समस्या सामान्य लाग्न सक्छ ।

तर राष्ट्रिय टोलीमा पुग्ने खेलाडी तयार हुने आधार यस्तै प्राविधिक केन्द्र र एकेडेमी हुन् ।

आज प्रशिक्षण रोकिएको छैन भन्दै समस्या टरेको मान्न सकिँदैन ।

नियमित बजेट रोकियो, नयाँ खेलाडी छनोट भएनन्, प्रशिक्षक विकास कार्यक्रम रोकिए र अन्तर्राष्ट्रिय एक्सपोजर घट्यो भने त्यसको असर तत्काल होइन, केही वर्षपछि राष्ट्रिय टोलीमै देखिन सक्छ ।

यही कारण एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्षसमेत रहेका टेक्निकल सेन्टरका अध्यक्ष राई अहिलेको चुनौतीलाई राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय सहभागिताभन्दा परको विषय मान्छन् ।

‘नेपाली फुटबलको सबैभन्दा ठूलो चुनौती अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुपस्थिति मात्र होइन,’ राईले भने, ‘भावी पुस्ताको फुटबल विकासलाई जोगाउनु पनि उत्तिकै महत्वपूर्ण छ ।’

उनका अनुसार एन्फा र फिफाबीचको समस्या छिटो समाधान गर्न पहल गर्नुको विकल्प छैन ।