सुनसरी । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्ज घटनामा प्रहरीको गोली लागेर मृत्यु भएका रवीन्द्रकुमार मेहताको अन्त्येष्टि गरिएको छ ।

एक सातादेखी दिनदेखि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको उनको शव बुधबार बिहान हेलिकोप्टर मार्फत कप्तानगञ्ज ल्याइएको थियो । शवलाई मृतकको घरमा लगेर आफन्त, स्थानीय तथा शुभेच्छुकले श्रद्धाञ्जली अर्पण गरेपछि गाउँमा शवयात्रा निकालिएको थियो ।

त्यसपछि रवीन्द्रलाई गत साउन १० गते राती गोली चलेको घटनास्थलमै अन्त्येष्टि गरिएको हो ।

यसअघि सोही घटनामा मृत्यु भएका ओमप्रकाश मेहेता र जयप्रकाश मेहेताको पनि यही स्थानमा अन्त्येष्टि गरिएको थियो ।

गत साउन १० गते देवानगञ्ज–३ कप्तानगञ्जमा दुई पक्षबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर रवीन्द्र घाइते भएका थिए ।

प्रारम्भिक उपचार विराटनगरमा गरिएपछि थप उपचारका लागि उनलाई काठमाडौं लगिएको थियो । उपचारका क्रममा स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनको गत साउन १९ गते मृत्यु भएको थियो ।

रवीन्द्रको शव परिवारले बुझ्न अस्वीकार गरेपछि एकसातासम्म शिक्षण अस्पतालमै राखिएको थियो ।

मृतक परिवारले सहिद घोषणा, घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सरकारसँग सहमति खोजिरहेको थियो ।

सरकारले देवानगञ्ज र सिरहाका झडपमा ज्यान गुमाएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरिसकेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले देवानगञ्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहता तथा सिरहाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । सरकारको निर्णयसँगै मृतक परिवार तथा पीडित पक्षले गर्दै आएको आन्दोलन स्थगित गरेका छन् ।

सहिद घोषणा भएपछि परिवारले रवीन्द्रको शव बुझेर कप्तानगञ्ज ल्याएर अन्त्येष्टी गरेका हुन् ।

रवीन्द्रको अन्त्येष्टिसँगै कप्तानगञ्ज घटनामा मृत्यु भएका तीनै जनाको सोही स्थानमा अन्तिम संस्कार सम्पन्न भएको छ।