सुनसरी । भारतको सिक्किमस्थित बर्मिक टोक्लामा आयोजित स्व. टीका माया गुरुङ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान्स गोल्डकपमा नेपालको हाम्रो इटहरी भेट्रान फुटबल क्लब, इटहरी फाइनलमा प्रवेश गरेको छ।

भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित प्रतियोगिताअन्तर्गत बुधबार भएको सेमिफाइनलमा हाम्रो इटहरी भेट्रान्सले आयोजक टोली उसका भेट्रान फुटबल क्लब, गान्तोकलाई ट्राइब्रेकरमा ४–३ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। ट्राइब्रेकरमा इटहरीका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै ४ गोल गरे भने गान्तोकले ३ गोल मात्र गर्न सक्यो।

इटहरीको जितमा गोलरक्षक सुनिल तामाङको प्रदर्शन निर्णायक बन्यो। उनले पेनाल्टी सुटआउटका क्रममा दुई प्रहार बचाउँदै टोलीलाई फाइनलको यात्रा तय गराउन महत्वपूर्ण भूमिका खेले। उत्कृष्ट प्रदर्शनका लागि तामाङ ‘प्लेयर अफ द म्याच’ घोषित भए।

नेपालबाट सहभागी हाम्रो इटहरी भेट्रान फुटबल क्लबले अब प्रतियोगिताको उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

टोलीले सेमिफाइनलमा देखाएको संयमित प्रदर्शन र गोलरक्षक तामाङको उत्कृष्ट बचाउले इटहरीलाई उपाधिको प्रमुख दाबेदारका रूपमा उभ्याएको छ।