सुनसरी । भारतको सिक्किमस्थित बर्मिक टोक्लामा आयोजित स्व. टीका माया गुरुङ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान्स गोल्डकपको उपाधि नेपालको हाम्रो इटहरी भेट्रान फुटबल क्लब, इटहरीले जितेको छ।
भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा हाम्रो इटहरी भेट्रान्सले भारतको जेबीसी सिङतामलाई २–१ गोलले पराजित गर्दै ट्रफी उचालेको हो।
इटहरीले खेलको पहिलो हाफमै दुई गोल गर्दै उपाधि यात्रालाई बलियो बनाएको थियो। पहिलो हाफको १५औँ मिनेटमा अंकुर खड्गीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि सन्तोष राईले गोल थप्दै इटहरीको अग्रता २–० मा पुर्याए।
जेबीसी सिङतामले एक गोल फर्काए पनि इटहरीले थप गोल हुन नदिँदै २–१ को अग्रता जोगायो।
अन्ततः यही नतिजासँगै हाम्रो इटहरी भेट्रान फुटबल क्लबले पहिलो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान्स गोल्डकपको उपाधि आफ्नो नाममा लेखाउन सफल भयो।
उपाधिसँगै हाम्रो इटहरी भेट्रान फुटबल क्लबले नगद १ लाख रुपैयाँ पुरस्कार र ट्रफी प्राप्त गरेको छ।
प्रतियोगितामा इटहरीका खेलाडी तथा प्रशिक्षकले व्यक्तिगत विधामा समेत उत्कृष्टता हासिल गरेका छन्।
अंकुर खड्गी प्लेयर अफ द म्याच, पाण्डव चौधरी बेस्ट कोच, दिवस राई बेस्ट डिफेन्डर, डेनि राई बेस्ट मिडफिल्डर र सुनिल तामाङ बेस्ट गोलकिपर घोषित भएका छन्।
यसअघि इटहरीले सेमिफाइनलमा उस्का भेट्रान फुटबल क्लब गान्तोकलाई निर्धारित समयमा १–१ गोलको बराबरीपछि ट्राइब्रेकरमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
उक्त खेलमा इटहरीका गोलरक्षक सुनिल तामाङले दुई पेनाल्टी बचाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए।










