विराटनगर । कोशी प्रदेश सरकारको आज पुनर्गठन हुने भएको छ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका बिचमा साउन ९ गते तीन बुँदे सहमति भएपछि कोशी प्रदेश सरकार पुनर्गठन हुन लागेको हो । नव नियुक्त मन्त्रीहरूको सपथ ग्रहणका लागि प्रदेश प्रमुख परशुराम खापुंगसँग तीन बजेका लागि समय माग गरिएको छ । एमालेका तर्फबाट मन्त्री बन्नेहरू भने पुरानै रहने छन् । उनीहरूको मन्त्रालय भने हेरफेर हुने छ ।
 
सरकार पुनर्गठन हुँदा एमालेले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सहित ४ वटा मन्त्रालय आफ्नो भागमा राख्ने सहमति भएको छ । यस्तै नेकपाले ४ वटा मन्त्रालय पाउने छ । एमालेका तर्फबाट पुरानै मन्त्रीहरूले निरन्तरता पाउने एमालेले जनाएको छ । मन्त्रालय हेरफेर भए पनि पुरानै मन्त्रीले निरन्तरता पाउने छन् । नेकपाले भने सपथ ग्रहणका लागि समय तोकिदा समेत मन्त्रीहरू टुङ्गो लगाउन सकेको छैन । 

मन्त्रीको नाम टुङ्गो लगाउन अहिले नेकपा प्रदेश कमिटी सचिवालयको बैठक बसिरहेको छ । बैठकले मन्त्रीहरूको नाम टुङ्गो लगाउने छ । दुई दिन अघि बसेको संसदीय दलको बैठकमा प्रदेश सभामा रहेका रहेका १७ मध्ये १५ जनाले मन्त्रीमा दाबी गरेका छन् । मन्त्री बन्न चाहानेको सङ्ख्या धेरै भएपछि मन्त्री बन्नेको अन्तिम नाम सिफारिस गर्ने जिम्मा प्रदेशको सचिवालयलाई दिइएको छ । 

नेकपा श्रोतका अनुसार मन्त्री बन्नेहरूको नाम लगभग टुङ्गो लागे पनि पार्टीबाट नेतृत्व गरेर को जाने भन्ने विषयमा भने टुङ्गो लाग्न सकेको छैन । नेकपाबाट नेतृत्व गरेर सरकारमा जान ३ जनाले दाबी गरेका छन् । उनीहरू मध्ये प्रचण्डका ज्वाँई जीवन आचार्यले सबै भन्दा बढी शक्ति प्रयोग गरेका छन् ।

उनी बाहेक बावुराम गौतम र दुर्गा चापागाईँले समेत पार्टीका तर्फबाट नेतृत्व गरेर सरकारमा जान पाउनु पर्ने दाबी गरेका छन् । उनीहरू मध्ये एक जना सरकारमा सहभागी हुने नेकपाले जनाएको छ । 
उनीहरू बाहेक सोलुखुम्बुका सांसद गोम्वु शेर्पा,खिनु लङ्वा, गीता तिम्सिना, राजन किराँती समेत मन्त्री बन्ने लाइनमा छन् । यस्तै सपना परियार समेत मन्त्री हुने लाइनमा छन् ।