इटहरी । इटहरीमा जारी पाँचौँ इन्टर स्कुल इन्डोर क्रिकेट लिग–२०८३ को फाइनलमा जनता माध्यमिक विद्यालय र विश्व आदर्श एकेडेमी प्रवेश गरेका छन् । बुधवार सम्पन्न सेमिफाइनलका खेलमा जनता माविले कोसी सेन्ट जेम्सलाई २७ रनले तथा विश्व आदर्शले नेपाल डीभीएम ग्लोबल एकेडेमीलाई २ विकेटले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
इटहरी रङ्गशालाको इन्डोर क्रिकेट हलमा सम्पन्न पहिलो सेमिफाइनलमा जनता माविले निर्धारित ८ ओभरमा ४ विकेट गुमाएर ७९ रन बनाएको थियो । उसका लागि अहसान खानले सर्वाधिक ३९ रन तथा नितेश रायले १५ रनको योगदान दिए ।
जवाफमा कोसीले ८ ओभरमा ५ विकेट गुमाउँदै ५२ रनमै सीमित भयो । कोशीका अनिकेत महराले २९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । जनता माविका लागि बलिङतर्फ अंकित दासले ३ विकेट लिए ।
खेलमा जनता माविका अहसान खान र अंकित दास संयुक्त रूपमा ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
दोस्रो सेमिफाइनलमा विश्व आदर्श एकेडेमीले नेपाल डीभीएम ग्लोबल एकेडेमीलाई २ विकेटले पराजित गर्यो ।
पहिले ब्याटिङ गरेको नेपाल डीभीएमले ७ ओभरमा ५ विकेट गुमाउँदै ४७ रन बनाएको थियो । उसका लागि आयुष कार्कीले २५ रन बनाए ।
बलिङतर्फ डिभिएमका रिवाज बोहराले २ तथा बिश्वआदर्शका सक्षम धुंगाना र अविरल गौतमले समान १ विकेट लिए । ४८ रनको लक्ष्य पछ्याएको विश्व आदर्शले ७.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
उसका लागि सुबिज्ञ तामाङले अविजित १७ रन बनाए ।
उत्कृष्ट प्रदर्शन गरेका तामाङ ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
दुवै सेमिफाइनलबाट जनता मावि र विश्व आदर्श एकेडेमीले उपाधिका लागि बिहीबार प्रतिस्पर्धा गर्ने भएका छन् ।
विद्यालय तहका खेलाडीलाई इन्डोर क्रिकेटमार्फत प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनलमा अब दुवै टोली उपाधिका लागि आमनेसामने हुनेछन् ।
त्यसभन्दा अगाडी तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित टिमहरूबिच प्रतिस्पर्धा हुनेछ ।
आयोजक आइडियल स्पोट्र्स एकेडेमीका सञ्चालक रितेश रोयका अनुसार प्रतियोगिताका खेलहरू इटहरीमा सञ्चालन भइरहेका छन् ।











