इटहरी । जनता माध्यमिक विद्यालयले पाँचौँ इन्टर स्कुल इन्डोर क्रिकेट लिग–२०८३ को उपाधि जितेको छ।

बिहीबार इटहरी रंगशालास्थित इन्डोर क्रिकेट हलमा सम्पन्न फाइनलमा जनता माविले विश्व आदर्श एकेडेमी (VAC) लाई २८ रनले पराजित गर्दै उपाधि जितेको हो।

फाइनलमा पहिले ब्याटिङ गरेको जनता माविले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर ६८ रन बनाएको थियो।

जवाफमा विश्व आदर्शले ६ ओभरमै सबै ५ विकेट गुमाउँदै ४० रन मात्र बनाउन सक्यो। यससँगै जनता मावि २८ रनले विजयी हुँदै उपाधिको हकदार बन्यो।

फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका जनता माविका अहसान खान ‘म्यान अफ द फाइनल’ घोषित भए। उनले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै १३७ रन बनाउनुका साथै ४ विकेटसमेत लिएर ‘प्लेयर अफ द सिरिज’ को उपाधिसमेत हात पारे।

janata

प्रतियोगितामा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको अवार्ड पनि खानले पाए।

प्रतियोगिताको उत्कृष्ट ब्याटरको अवार्ड नेपाल डीभीएम ग्लोबल एकेडेमीका आयुष पोखरेलले पाए।

उनले प्रतियोगिताभर १११ रन बनाए। उत्कृष्ट बलरको अवार्ड पनि नेपाल डीभीएमकै रिवाज बोहोराले हात पारे। उनले प्रतियोगितामा १० विकेट लिए।

नेपाल डीभीएम ग्लोबल एकेडेमीका आदित्य पौडेललाई प्रतियोगिताको ‘इमर्जिङ प्लेयर’ घोषित गरिएको छ।

runerup VAC

 प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन डिभिएम स्कुलले कोसी सेन्टजेम्सलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । 

बिजेता तथा उपबिजेता खेलाडीहरुलाई प्रमुख अतिथी इटहरी ९ का वडाअध्यक्ष जितेन थापा, बिश्वआदर्श कलेजका प्राचार्य गणेश दुलाल, इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी सुवास हमाल, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष अर्जुन सुबेदी लगायतले पुरस्कर बितरण गरे ।

बुधबार सम्पन्न सेमिफाइनलमा जनता माविले कोशी सेन्टजेम्सलाई २७ रनले तथा विश्व आदर्शले नेपाल डीभीएम ग्लोबल एकेडेमीलाई २ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए।

प्रतियोगिताले विद्यालय तहका खेलाडीलाई इन्डोर क्रिकेटमा प्रतिस्पर्धात्मक अवसर प्रदान गरेको आयोजक आइडियल स्पोर्ट्स एकेडेमीले जनाएको छ।