इटहरी । सुनसरीका ३२ विद्यालयले चौथो संस्करणको स्वर्गीय बुधरानी चेम्जोङ लिम्बु मेमोरियल अन्तरविद्यालय फुटसल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।

झुम्कास्थित अल स्पोर्ट्स कलेक्सनको आयोजनामा भदौ ७ गतेदेखि इटहरीमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

बालबालिकामा खेलसम्बन्धी कौशल विकास गर्ने तथा उनीहरूको रुचिअनुसार विभिन्न खेलमा अघि बढ्न प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगिताबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सुनसरीका ३२ विद्यालय प्रतियोगितामा सहभागी हुने जानकारी दिइएको हो।

प्रतियोगिता इटहरी–५ स्थित पाथीभरा फुटसलमा भदौ ७ गतेदेखि ८ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका खेल बिहान ७ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।

प्रतियोगिता ७ ए साइडको ढाँचामा सञ्चालन गरिनेछ।

प्रतियोगिताको विजेताले नगद ४० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीका रूपमा चयन हुने खेलाडीलाई ३० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ। त्यस्तै उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

‘म्यान अफ द म्याच’ घोषित खेलाडीलाई प्रत्येक खेलमा १ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

उत्कृष्ट फेयर प्ले टिम (स्कुल) लाई ३ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र तथा ‘राइजिङ प्लेयर’लाई २ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगिताले विद्यालय तहबाटै खेलाडीको प्रतिभा पहिचान गर्न तथा उनीहरूलाई प्रतिस्पर्धात्मक खेलतर्फ आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। बालबालिकालाई ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित खेलकुदमा सक्रिय बनाउने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको आयोजकले जनाएको छ।